कोरोना रोकथाममा कदम नचालेसम्म प्रदेशसभा बैठक अवरुद्ध हुन्छ : प्रतिपक्ष

धनगढी, असार १५
सुदूरपश्चिम प्रदेशको प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजबादी नेपालले सरकारले कोरोना रोकथामका लागि कदम नचालेसम्म प्रदेशसभा बैठक चल्न नदिने जनाएको छ । सोमबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना रोकथाममा सरकार गम्भीर नभएसम्म प्रदेशसभा बैठक सञ्चालन गर्न नदिने प्रतिपक्ष दलले जानकारी दिएका हुन् ।

कोरोना भाईरस नियन्त्रणका लागि ठोस योजना नल्याउँदा सम्म प्रदेश सभा बैठकको अबरोध जारी रहने काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले बताए । उनले प्रदेश सरकार गैर जिम्मेवार हुँदा सुदूरपश्चिम प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमण फैलिरहेको आरोप लगाए । ‘कोरोना संक्रमितलाई निको नहुदै घर पठाएर प्रदेश सरकारले समुदायमा कोरोना संक्रमण फैलाउँदै छ, तत्काल निको नहुदै घर पठाएका संक्रमितलाई आईसोलेसनमा राखेर उपचारको ब्यबस्था गरियोस ।’

कोरोना नियन्त्रणका नाममा सुदूरपश्चिममा ९३ करोड खर्च भइसकेको भन्दै यसको हिसाव पनि दिनुपर्ने उनले बताए । नेता राववले अहिलेसम्म पीसीआर मेसिन जडानमा पनि सरकार मौन बसेकाले परीक्षणको दायरा पनि बढ्न नसकेको बताए । परीक्षण नगरेर संक्रमितलाई घर पठाउँदा गाउँमा त्रास सृजना हुनुका साथै संक्रमण पनि बढाउने काम सरकारले गरेको उनको आरोप छ ।

जनता समाजबादी पार्टीका साँसद कृष्णकुमार चौधरीले प्रदेश सरकारले कोरोना रोकथाम र ब्यबस्थापन प्रभावकारी ढंगले गर्न नसकेका कारण बाध्य भएर प्रदेश सभा बैठक अबरुद्ध पारेको बताए । उनले भने– ‘योजना बाँडफाँट, नयाँ बजेट लगायत थुप्रै बिषयमा प्रदेश सरकारले गरेका काम प्रति असहमति छ, तर अहिलेको मुख्य बिषय कोरोना भाईरसबाट कसरी जनतालाई बचाउने भन्ने रहेकाले त्यसैमा हामी केन्द्रित छौं ।’

कोरोना भाईरस रोकथाम र ब्यबस्थापनमा सरकारले ठोस कदम नचाल्दासम्म प्रदेश सभाको अबरोध जारी रहने उनले बताए । दुबै प्रतिपक्ष दलले प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत भएको भोलिपल्ट देखि नै प्रदेश सभा बैठक अबरुद्ध पार्दै आएका छन् । प्रतिपक्षी दलहरुको अवरोधका कारण प्रदेश सभामा बजेटबारे छलफल अघि बढ्न सकेको छैन ।


१५ असार २०७७, सोमवार १५:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु