झुलाघाटमा पुल बनाएरै छाड्छु : देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताएका छन् । बुधबार संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताए ।
पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र रोजगारीमा टेवा पुग्ने देउवाले बताए ।
‘झुलाघाटमा मोटरेबल पुल आवश्यक छ, त्यो विषयमा भारतीय प्रधानमन्त्रीसँग कुरा गर्छु, उक्त पुल बनाएरै छाड्छु,’ देउवाले भने, ‘पश्चिमसेती परियोजना अघि बढेको छ । पश्चिमसेती बन्यो भने सुदूरपश्चिमको विकासमा टेवा पुग्छ ।’
उनले देशको आवश्यकताका आधारमा गठबन्धन गरिएको बताउँदै गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरे । एक अर्को प्रसङ्गमा उनले विकासमा सन्तुलन कायम गर्न सङ्घीयता आवश्यक रहेकामा जोड दिए ।रासस
२३ कात्तिक २०७९, बुधवार २१:३६ बजे प्रकाशित































