सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या २४ सय नाघ्यो
धनगढी, असार १५ । सुदूरपश्चिममा आज थप ९९ जना कोरोना संक्रमित थपिएका छन् । शिक्षण अस्पताल काठमाडौं, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ९९ जनामा कोरोना पुष्टि भएको हो।
शिक्षण अस्पतालमा भएको परीक्षणमा बाजुराका २० महिला र ४६ पुरष गरी ६६ जनामा कोरोना पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा बाजुरा जिल्लाकै ८ महिला र २४ पुरष गरी ३२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको उनले बताए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार चार सय ८ पुगेको छ।
हालसम्म सबैभन्दा बढी कैलालीका ६ सय दुई जनामा कोरोना पुष्टि भएको छ। यस्तै बाजुरामा चार सय १४, डोटीमा चार सय १०, कञ्चनपुरमा तीन सय, डडेल्धुरामा दुई सय २६, बैतडीमा दुई सय १४, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म सुदूरपश्चिमममा ६ जनाको मृत्यु भइसकेको छ भने तीन सय ६७ जना निको भएर घर फर्किइसकेका छन् ।
१५ असार २०७७, सोमवार १०:५० बजे प्रकाशित































