punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उखु खेतीका लागि किसानले कसरी पाउँछन् अनुदान ?

Chaupati
safha napa

कैलाली र कञ्चनपुरका बर्खायाममा बाढीबाट अत्यधिक प्रभावित हुने क्षेत्रमा उखु खेती विस्तार हुन थालेको छ । बाढी र डुवानबाट अन्य बालीको तुलनामा उखुमा कम क्षति हुने र सरकारी अनुदानसमेत पाइने भएपछ्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रि किसान उखु खेतीतर्फ आकर्षित हुन थालेका हुन् । खासगरी कञ्चनपुरमा उखु खेतीको क्षेत्र केही वर्षयता विस्तार हुँदै गएको छ । कञ्चनपुरमा कैलालीभन्दा बढी क्षेत्रफलमा उखु खेती गरिदै आएको छ ।

देशमै सबैभन्दा बढी उखु उत्पादन हुने जिल्लामा तेस्रो नम्बरमा पर्ने कञ्चानपुरमा केही वर्षयता उखु खेती गर्ने क्षेत्र विस्तार भएको छ । हाल जिल्लामा पाँच हजार ६२५ हेक्टर क्षेत्रफलमा उखु हुँदै आएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । ज्ञान केन्द्रका अनुसार गत आर्थिक वर्षमा जिल्लाभरि तीन लाख ३५ हजार १८० मेट्रिकटन उखु उत्पादन भएको थियो । बर्खायाममा बाढी र डुवानले धानबालीमा क्षति हुने भएकाले कैलाली र कञ्चनपुरमा उखु खेतीप्रति किसान आकर्षित हुन थालेका हुन् ।
व्यवसायीक रुपमा उखु खेती गर्न चाहने किसानलाई सुदूरपश्चिम प्रदेश सरकारले अनुदान दिन थालेकाले पनि यसको क्षेत्र विस्तार हुँदै गएको हो । प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा उखु खेती विस्तारका लागि कञ्चनपुरका किसानलाई दुई करोड बजेट अनुदान दिएको थियो । जसबाट नौ सय किसान लाभाम्वित भएका सरकारी तथ्यांक छ । गत आर्थिक वर्षमा मात्रै २४ लाख अनुदान दिइएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरमा मात्रै नौ सयभन्दा बढी किसान उखु खेतीमा संलग्न रहेका छन् । जिल्लामा बेलौरी नगरपालिका, बेलडा्रँडी गाउँपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा बढी उखु खेती गरिन्छ । यी बाढी र डुवानबाट अत्यधिक प्रभावित हुने क्षेत्र हुन् । नदी तटीय क्षेत्रमा वैज्ञानिक तरिकाले खाली रहेका बगरमा उखु खेती गरी कञ्चनपुरका किसानले गतिलो आम्दानी लिँदै आएका छन् । बगरमा उखु खेती गर्दै आएका किसानले प्रतिवर्ष दुई करोड बढीको उखु बिक्री गर्दै आएका कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख दिलबहादुर बिष्टले बताए ।

कञ्चनपुरका किसान पछिल्लो समयमा ट्रेञ्च प्रविधिको प्रयोग गरी उखु रोप्दै आएका उनले बताए । यस प्रविधिबाट गरिएको खेतीमा सिँचाइमा पानीको बचत ६० प्रतिशतसम्म हुने गरेको कृषि प्राविधिक बताउँछन । उखु बाँध्न सजिलो, हावाहुरीबाट कम ढल्ने, रोग किरा कम लाग्ने, उत्पादन बढी हुने भएकाले किसानले नयाँ प्रविधिबाट उखुखेती गर्ने गरेको ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । यो प्रविधिको प्रयोग गरी उखु रोप्दा चिनीको मात्रा अधिक हुने भएकाले मिलमा बिक्रीका लागि पनि समस्या नहुने ज्ञान केन्द्र प्रमुख बिष्टले बताए ।

कञ्चनपुरमा जिल्लामा भागेश्वर र महाकाली गरी दुई वटा चिनी मिल रहेका छन् । यी मिलहरुले विगतमा भारतबाट उखु ल्याउनु पर्ने बाध्यता रहे पनि तर केही समययता जिल्लामै उखुको उत्पादन बढेपछि भारतबाट ल्याउनु पर्ने बाध्यता हटेको बिष्टले बताए । आधुनिक हलोको मद्दतले ट्रेन्च अर्थात् नालीमा उखुलाई रोपिन्छ । यसबाट उखुको बोट र जरा विकसित बढी हुने भएकाले घाम, पानी हावा तथा बाढीलेसमेत असर कम गर्ने कृषि प्राविधिक बताउँछन् ।
सामान्य विधिमा उखु लगाउँदा उमार शक्ति ३० देखि ३५ प्रतिशतमात्रै हुने गरेकामा ट्रेन्च प्रविधिमा उखु खेती गरिएपछि उखुको उमार शक्ति ८० देखि ९० प्रतिशतसम्म हुने गरेको ज्ञान केन्द्र प्रमुख बिष्टले बताए । उत्पादन बढ्ने भन्दै किसानहरुले पुरानो बिउ लगाउन छोडर नयाँ प्रजातिका उखु खेतमा रोप्न थालेका छन् । ‘ट्रेन्च प्रविधिमा उखुखेती गरेपछि सामान्य विधिको भन्दा ३० देखि ४० प्रतिशतसम्म उत्पादकत्वमा वृद्धि हुने गरेको छ ।’ उनले भने, ‘त्यसैले हिजोआज किसानहरु यसतर्फ आर्कषित भएका छन् ।’

प्रदेश सरकारले कृषि ज्ञान केन्द्र मार्फत् प्रविधिमा सहयोग गर्नुका साथै कृषकका समूहहरुमा बीउबिजन पनि वितरण गर्ने गरेको छ । एकल रुपमा भन्दा पनि समूहमा आउने किसानहरुलाई अनुदान पाउन सहज हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । कृषक सहकारी, समूहले कार्यालयमा आएर पनि बीउबिजन, प्लास्टिक, बोर्रिङ्ग, हाते ट्याक्टर, मेसिन तथा किसानलाई चाहिने सामग्री माग गर्न सक्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानहरुले ५० प्रतिशत अनुदानमा यी सामाग्रीहरु पाउने गरेका छन् ।

उखु खेतीमा चाहिने अनुदान सञ्चालक समितिले आवश्यकता आधारमा किसानहरुलाई उपलब्ध गराउने ज्ञान केन्द्रका प्रमुख बिष्टले बताए । ‘हामीले एकमुस्ट रकम सञ्चालक समितिलाई दिने गरेका छौँ ।’ उनले भने, ‘उनीहरुले आवश्यकताका आधारमा किसानहरुलाई रकम उपलब्ध गराउने गरेका छन्, हामीले सिधै किसानलाई दिने होइन् ।’ बीउ, प्रविधि, उपकरणमा सरकारी सहयोग पाएपछि व्यवसायीक उखु खेतीको विस्तार भएको ज्ञान केन्द्रको दावी छ ।
बीउबिजन, प्लास्टिक, बोर्रिङ्ग, पावर ट्रिलर मेसिनलगायत उखु खेतीका लागि चाहिने सामग्री मागअनुसार किसानहरुलाई उपलब्ध गराउने गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । यस बाहेकका अन्य कुनै कृषि सम्वन्धी समस्या भए उनीहरुलाई सुझाव समेत दिइने गरेको ज्ञान केन्द्र प्रमुख बिष्टले बताए ।
कैलालीमा पनि दुई सय ३० हेक्टर क्षेत्रफलमा उखु खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लाको भजनी नगरपालिका र कैलारी गाउँपालिकामा उखु खेती गरिदैँ आएको छ । जिल्लामा वार्षिक १० हजार मेट्रिकटन उखु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी जनकराज बोहराले जानकारी दिए । खास गरेर बाढी लाग्ने ठाउँमा बगरतिर उखु खेती हुने गरेको उनले बताए ।

बाढीले धानबाली नष्ट गर्ने तर उखुलाई बाढीले असर नगर्ने हुँदा बाढी प्रभावित क्षेत्रमा उखु खेती बढी हुने गरेको बोहराले बताए । ‘कैलालीमा भने गत बर्ष र यस बर्ष उखुका लागि मात्रै भनेर छुट्टै बजेट छुट्याएको छैन्, तर जुनसुकै पनि व्यवसायीक खेतीका लागि अनुदानमा कृषि यन्त्र वितरणका लागि साढे तीन करोड बजेट छुट्याएका छौँ ।’ उनले भने, ‘यसबाट उखु खेती गर्ने किसानले पनि पाउनु हुन्छ ।’ कञ्चनपुरका किसानलाई उखु खेतीका लागि सरकारले यस वर्ष ५० लाख रुपैयाँ अनुदान दिँदैछ ।


१८ कात्तिक २०७९, शुक्रवार १३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु