तालिमका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरीको मृत्यु
डोटीको दिपायलस्थित प्रहरी तालिम केन्द्रमा लामो दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका ६ झाडिगाउँका २१ वर्षीय भरत बोहराको मृत्यु भएको हो ।
उनी असार २२ गते १० किलोमिटरको दौडका क्रममा बेहोस भएका थिए। उनलाई धेरै बेरसम्म होस नआएपछि हेलिकोप्टर मार्फत कोहलपुर लगिएको थियो ।
कोहलपुरस्थित शिक्षण असपतालमा उपचारका क्रममा उनको शनिबार मृत्यु भएको प्रहरीले बताएको छ ।
यस्तै यही असार २२ गते सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा रहेका ९ जना प्रहरी जवान प्रशिक्षार्थीलाई ‘हिट स्ट्रोक’ भएपछि अस्पताल भर्ना गरिएको थियो । १० किलोमिटर दौडका क्रममा ९ जना प्रशिक्षार्थी बेहोस भएका थिए ।
२६ असार २०७९, आइतवार १०:५२ बजे प्रकाशित













