यसरी खुम्चिए रावल आफ्नै जिल्लामा

एक समय थियो, एमाले नेता भीम रावल आएको कुरा पूरै सुदूरपश्चिमलाई थाहा हुन्थ्यो । स्थानीय बासिन्दा भन्थे– अछामका साँफेबगर नगरपालिका, चौरपाटी, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिका त रावलकै हुन् । २०७४ को स्थानीय तह चुनावमा यी चार पालिकाका १९ वडामा एमालेले जितेको थियो ।

यो जितलाई एमाले नेताहरू भीम रावलकै जितका रूपमा अथ्र्याउँथे तर यसपालि एमाले १३ वडामा सीमित भयो । जसलाई एमालेकै नेताहरूले रावल खुम्चिँदै गएको रूपमा अथ्र्याएका छन् ।
एमाले औपचारिक रूपमा विभाजन नहुञ्जेल एमाले नेता रावलको रापताप थियो ।

सुदूरपश्चिमको वामपन्थी राजनीति लामो समय रावलकै वरपर थियो तर अहिले उनले विगतको वर्चस्व मात्रै गुमाएका छैनन्, उनको अघिपछि र दायाँबायाँ रहेर मोर्चा हाँक्ने सारथिहरू पनि फरक कित्तामा पुगेका छन् ।

धनगढी विमानस्थल र गृहजिल्ला आउँदा उनको वरपर देखिने लावालस्कर पातलिन थालेको छ । उनको क्षेत्रीय राजनीति कमजोर हुनुका पछाडि पार्टीभित्रकै उनको संघर्ष पनि जिम्मेवार देखिन्छ ।

एमालेको चितवनमा भएको दसौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेपछि रावलको प्रभाव कम हुँदै गयो । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्ट र अछाम जिल्ला इन्चार्ज झपट बोहरा पूर्वमाओवादी पृष्ठभूमिका छन् ।

अध्यक्ष ओली, प्रदेश इन्चार्ज भट्ट र जिल्ला इन्चार्ज बोहरा रावलविरुद्ध लागेपछि उनको प्रभाव कम भएको उनीनिकट एक नेताले बताए । उनका अनुसार जिल्लामा टिकट वितरणमा रावलसँग छलफलसमेत गरिएन ।

रावलको क्षेत्रमा ५ वटा स्थानीय तह पर्छन् । तीमध्ये एमालेले बान्नीगढी जयगढ गाउँपलिकामा उपाध्यक्ष मात्रै जितेको छ । नेता रावल चुनाव प्रचारप्रसारका लागि घरदैलो र आमसभामा खासै सक्रिय भएनन् । उनकै क्षेत्रमा पर्ने चौरपाटी गाउँपालिकामा तीन दल छुट्टाछुट्टै चुनावमा जाँदा एमाले दोस्रो भयो ।

मेल्लेखमा एकीकृत समाजवादीसँग तालमेल गरेको एमालेले पराजय बेहोर्नुप¥यो । यहाँ माओवादी र कांग्रेसको गठबन्धनले जितेको छ । रावलकै वडा साँफेबगर–६ मा एमालेका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले बराबर मत ल्याएर गोलाप्रथाबाट स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

पालिकामा पनि कांग्रेस र एकीकृत समाजवादीको गठबन्धनले जितेको छ ।
हालै सम्पन्न एमालेको जिल्ला अधिवेशनमा पनि रावल कमजोर सावित भए । जिल्ला अध्यक्षका लागि चुनावी मैदानमा रावल पक्षका प्रकाश शाह र ओली पक्षका चन्द्र बोहरा थिए । बोहराले चुनाव जितेका थिए ।

‘जनताका समस्यालाई नहेर्ने, कार्यकर्ता किन असन्तुष्ट भए भनेर सोधीखोजी नगर्ने भएकाले रावलप्रति धेरै कार्यकर्ता रुष्ट भएका छन्,’ एक एमाले नेताले भने । एमालेका तत्कालीन अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर, साँफेबगर नगरपालिकाका निवर्तमान मेयर कुलबहादुर कुँवर, चौरपाटी गाउँपालिकाका निवर्तमान अध्यक्ष हर्क साउदलगायतका थुप्रै नेताले साथ छोड्दा रावल कमजोर भएको कार्यकर्ताको बुझाइ छ ।

गहिरो अध्ययन गरेर खरो बोल्ने परिचय बनाएका रावलको शक्तिको मुख्यस्रोत सुदूरपश्चिम प्रदेश सरकारमा बहुसंख्यक सांसद रावल पक्षधर थिए । त्यसबाहेक तत्कालीन एमालेको सुदूरपश्चिम संगठन संरचनामा पनि लगभग उनको एकलौटी प्रभाव थियो ।

यतिसम्म कि सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले ०७८ जेठ २५ मा विश्वासको मत लिँदा प्रदेशसभामा एमालेका २४ (सभामुखबाहेक) सांसदमध्ये १७ जनाले ‘फ्लोर क्रस’ गरे । स्थायी कमिटीको निर्णय र निर्देशन उल्लंघन गरेर फ्लोर क्रस गर्ने हिम्मत उनीहरूले रावलकै आडमा जुटाएका थिए । त्यतिबेला ७ जनाले मात्रै पार्टीको निर्देशन मानेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ०७८ असार २९ मा विश्वासको मत लिने बेला पार्टी उपाध्यक्षसमेत रहेका रावलले मतदान गर्न नसक्ने भन्दै एकाएक प्रतिनिधिसभा सदस्यबाटै राजीनामा दिएपछि उनलाई भरोसा गर्ने सुदूरपश्चिमका एमाले प्रदेश सांसदहरू स्तब्ध भएका थिए ।

अभिभावक मानेका आफ्ना नेताको राजीनामापछि निराश भएका १७ सांसदले उनलाई राजीनामा फिर्ता गर्न आग्रह मात्रै गरेनन्, १४ सांसदले काठमाडौंस्थित उनकै निवासमा पुगेर निर्णयमा पुनर्विचार नगरे आफूहरूले पनि राजीनामा दिने चेतावनीसमेत दिए ।

रावलले एमाले विभाजनपछि भने प्रदेशमा आफ्नो शक्ति जोगाउन सकेनन् । विभाजनको पक्षमा नलाग्ने र एमालेमै बस्ने उनको निर्णयलाई उनका कट्टर समर्थक १७ मध्ये १४ सांसदले मानेनन् । उनीहरूले एकीकृत समाजवादी रोजे । यता, एमालेमा पनि सुदूरपश्चिमको इन्चार्जमा लेखराज भट्टलाई ल्याइएपछि उनी भूमिकाविहीन भए ।

‘रावल सरप्रति अहिले पनि आस्था छ तर एमालेमै बस्ने उहाँको निर्णयमा समर्थन गर्न सकिएन,’ प्रदेश सांसद माया भट्ट भन्छिन्, ‘हाम्रो मनमा ओलीको अहंकारप्रति यतिधेरै वितृष्णा गढिसकेको थियो कि रावल सर फर्के पनि हामी फर्किने अवस्था थिएन । हामीले उहाँलाई होइन, उहाँले हामीलाई छाड्नुभएको हो ।’

त्यति मात्रै हैन, लामै समय रावलको सबैभन्दा निकट रहेर काम गरेका उनको गृहजिल्ला अछामका तत्कालीन जिल्ला अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले पनि रावलको साथ छाडेर एकीकृत समाजवादी रोजे ।

त्यतिबेलै राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका रावल आफ्नै भूगोलमा कमजोर भएको सन्देश गइसकेको थियो । प्रदेशसभामा आफ्नै जिल्लाका ४ सांसदमध्ये ३ जना मना साउद, दुर्गाकुमारी कामी र बलबहादुर सोडारीले पनि उनको साथ छोडे ।


१९ जेठ २०७९, बिहीवार १९:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु