धनगढीमा देउवाले भने– एमालेलाई जिताउनु भनेको संसद भंग गर्न दिनु हो
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग वाक्क भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूतिर आएको बताएका छन् । धनगढीमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् ।
लामो समयदेखि एमालेमा रहेका माधव नेपालले पनि अध्यक्ष ओलीको साथ छोडेको देउवाले बताए । नेकपा एमालेले चुनाव जिते फेरि संसद भंग हुन सक्ने उनको आशंका छ । ‘ओलीजीको पार्टीलाई जिताउने भनेको संसद भंग गर्न दिनु हो । त्यस्तो व्यक्तिलाई संसदमा ल्याउनु हुन्न । एमालेमा ओलीले सबैलाई थर्काएर राखेका छन्’, उनले भने, ‘एमालेले जितेको खण्डमा संसद, प्रदेश, स्थानीय तह भंग गर्न सक्छन् । त्यसैले कांग्रेस र तालमेल भएका ठाउँमा गठबन्धनलाई जिताउनुहोस् ।’

अहिलेको अवस्थामा एमालेलाई जिताउनु नहुने देउवाको भनाइ छ । उनले एमाले विजयी भएको अवस्थामा प्रतिनिधिसभा मात्रै नभएर प्रदेश र स्थानीय तह नै भंग गर्न सक्ने बताएका थिए ।
‘ओलीले दुई पटक संसद भंग गरे । हामीले अदालतबाट फिर्ता ल्यायौं’, उनले भने, ‘एमालेले चल्न दिएको छैन । एमालेलाई जिताएर के गर्ने रु संसद भंग गर्न दिने रु’ अहिले गठबन्धनको सरकारलाई जिताउनुपर्ने देउवाको भनाइ छ । अहिलेको आवश्यकता गठबन्धन बलियो बनाउनु रहेको देउवाको भनाइ छ । सबै ठाउँबाट ल्याएर गठबन्धनको सरकार बनाएको उनको भनाइ थियो ।

देउवाले बागी उम्मेदवारहरूलाई फिर्ता लिनसमेत निर्र्देशन दिए । ‘जो आधिकारिक उम्मेदवार होइन, उसले फिर्ता लिनुस । उम्मेदवार नरहेको घोषणा गर्नुस’, देउवाले भने, ‘बागी उम्मेदवार मान्य हुँदैन । बागी उम्मेदवारका कारण चुनाव हारेका छौं । बागीकै कारण चुनाव हारियो भने कुनै पनि हालतमा माफी हुँदैन । कारबाही गर्छौ ।’ यस्तै देउवाले पाँच पटकसम्म प्रधानमन्त्री सुदूरपश्चिबासीकै मायाले भएको बताएका छन् ।
२६ वैशाख २०७९, सोमवार १६:५२ बजे प्रकाशित






























