चार महिनामा चितवनका ३१ स्थानमा बर्डफ्लु देखियो
कुखुरा पालनको राजधानीका रूपमा चिनिएको चितवनमा पछिल्लो चार महिनामा ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको हो ।
अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा २ लाख ३३ हजार ३ सय १२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिए । उनका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, ३५ वटा हाँस नष्ट गरिएको छ ।
बर्डफ्लुका कारण जिल्लामा १ लाख ७८ हजार २ सय २६ अण्डा, ६२ हजार ९ सय २० किलोग्राम दाना, ५८ हजार २ सय २० थान क्रेट, छ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर ३ हजार ४ सय ७६ वटा, १ हजार ३ सय ८० वटा गिरीराजको अण्डा, एक हजार ५०० थान काटुन, ६ सय ६० थान डाला र ४० किलोग्राम तयारी मासु नष्ट गरिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
पूर्वी क्षेत्रमा बर्डफ्लुको बढी असर देखिएको छ । पछिल्लोपटक खनाल पोल्ट्रीमा बर्डफ्लु देखिएपछि त्यहाँका ९० हजार कुखुरा नष्ट गरिएको थियो । बर्डफ्लु देखिएकामध्ये जिल्लाको सबैभन्दा ठूलो फार्म खनाल पोल्ट्री हो । पूर्वी चितवनकै अर्को एक फार्ममा तीव्र परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौं पठाइएको उनले बताए । सो फर्ममा १ लाख २० हजार लेयर्स कुखुरा थिए ।
बर्डफ्लुले कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्री गर्दा रोग तीव्र रूपमा फैलिएको अनुमान गरिएको छ ।अनुगमनमा कडाई हुन नसकेका कारण रोग फैलिएको हो । बागमती प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. शरण पाण्डेले केही कृषकले संक्रमण देखिन थालेपछि कुखुरा बिक्री गर्दा रोग फैलिएको बताए । जैविक सुरक्षामा कृषकले ध्यान दिनुपर्ने उनको भनाइ छ ।
२० वैशाख २०७९, मंगलवार १३:२८ बजे प्रकाशित































