जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली सोमबार बझाङ जाँदै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार बझाङ जाने भएका छन् । एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली बझाङ जान लागेका हुन् ।
उक्त दिन करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन् । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक यति ठुलो सङ्ख्यामा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्न लागिएको हो ।
‘२ हजार बढी कार्यकर्ता एमालेमा भित्राउने गरी एमाले अध्यक्ष ओली बझाङ आउन लाग्नु भएको हो’ नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह– इन्चार्ज ऐन महरले भने, ‘सुदूरपश्चिममा यति धेरै सङ्ख्यामा पार्टी प्रवेशको कार्यक्रम पहिलो पटक आयोजना गर्न लागिएको हो ।’
बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको छ । उक्त कार्यक्रममा ५ सय स्वयंसेवक खटाउने र ५० हजार जनता उतार्ने प्रयासमा सबै लागिरहेका उनले बताए ।
२६ चैत २०७८, शनिवार ११:४५ बजे प्रकाशित













