देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप

आजदेखि १५ महिनादेखि १५ वर्ष उमेरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदैछ ।

स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको हो ।

खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइनेछ । यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयमसेवक परिचालन गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार मात्र दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा खोप अभियानको उद्घाटन गरेका थिए । केही क्षेत्रमा केही दिनदेखि खोप लगाउन सुरु भए पनि आजदेखि अभियान नै सुरु भएको हो ।

नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो । नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ ।

 


२५ चैत २०७८, शुक्रवार ०७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु