सुदूरपश्चिमका युवालाई ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा जाने अवसर

ब्रिटिश गोर्खा र सिंगापुर पुलिसको छनौट प्रकृयाका लागि रिक्रुटिङ अधिकृतहरुको विशेष टोली सुदूरपश्चिम प्रदेश भ्रमणमा आएको छ ।
नेपालको पूर्वी भेगबाट ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा बर्सेनी ठूलो सहभागिता हुने गरेपनि सुदूरपश्चिमका युवाहरु यस अवसरबाट बञ्चित हुँदै आएका छन् । सुदूरपश्चिमबाट पनि ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्तिको अवसर बढाउन उच्च तहबाट अधिकृतहरु सुदूरपश्चिम आएका हुन् ।

No description available.

भ्रमण टोलीमा ब्रिटिश गोर्खा र सिंगापुर पुलिसका अपरेसन अफिसर हाना कारास र तीर्र्थ गुरुङ लगायत छन् । उक्त टोलीलाई सुदूरपश्चिाञ्चल कयाम्पसका प्रमुख योगराज उपाध्यायले स्वागत गर्दै ब्रिटिश गोर्खा आर्मी र सिंगापुर पुलिस फोर्सजस्तो आकर्षक र सम्मानित सेवामा यस क्षेत्रका युवाहरुको प्रवेशका लागि यो अवसर महत्वपुर्ण हुने विश्वास व्यक्त गरे ।

सो टोलीले बिहिबार सुदूरपश्चिमाञ्चल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा भर्तीका लागि आवश्यक पर्ने मापदण्डका बारेमा जानकारी दिदैँ उनीहरुलाई भर्तीका लागि उत्पे्ररित गरेको छ ।

No description available.

ब्रिटिश गोर्खा र सिंगापुर पुलिसमा सुदूरपश्चिमका युवाहरुको सहभागिता बढाउन क्याम्पसको समन्वयमा भर्ती छनौट प्रकृयाबारे टोलीले क्याम्पसका विद्यार्थीहरुलाई जानकारी दिएको हो । सो टोलीले अझै केही हप्ता सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गरेर युवाहरुलाई यस प्रकृयाबारे दिनेछ ।

टोलीको नेतृत्व गरिरहेकी अपरेसन अफिसर क्याप्टेन हाना करासले ब्रिटिश गोर्खा र सिंगापुर पुलिसका लागि योग्य उम्मेदवार छनौट प्रकृयाका लागि यहाँ आएको जानकारी दिइन् । प्रारम्भिक छनौट प्रकृयामा सहभागी हुन इच्छुक युवाहरुले अनलाइनमार्फत फर्म भर्न सक्ने उनले बताइन् । त्यसपछि सुदूरपश्चिम प्रदेशसहित मध्य नेपालका २५ जिल्लाका युवाहरुको छनौट सुर्खेतको बीरेन्द्रनगरमा हुनेछ । ‘यी सबै प्रकृया अत्यन्त पारदर्शी र निशुल्क रपमा हुनेछन् ।’ अपरेसन अफिसर क्याप्टेन करासले भनिन् ‘यसका लागि कसैले कुनै भनसुन वा आर्थिक प्रलोभनको कुरा गर्छ भने त्यस्तो भ्रममा नपर्नुहोला ।’ चैत्र २१ गतेदेखि खुलेको अनलाइन फर्म वैशाख २५ गतेसम्म भर्न सकिने रिक्रुटिङ अफिसर क्याप्टेन तीर्थ गुरुङले बताए ।

No description available.

सुदूरपश्चिमका युवाहरुलाई बढीभन्दा बढी सहभागी गराउन फिल्डमै आएर यर्थापरक र तथ्यगत जानकारी दिइरहेको उनले बताए । उनका अनुसार यस वर्ष नेपालबाट ब्रिटिश गोर्खा आर्मीका लागि १९६ जना र सिंगापुर पुलिस फोर्सका लागि १४० जना छनौट हुनेछन् ।


२४ चैत २०७८, बिहीवार १५:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु