मेयर कप क्रिकेट : बाराकोटद्वारा देहिमाडौं पराजित
बैतडीको देहिमाडौंमा जारी पाँचौँ संस्करणको मेयर कप टी-२० क्रिकेट प्रतियोगितामा बाराकोटले विजयी शुरुवात गरेको छ। दशरथचन्द नगरपालिका-१० बाराकोटले वडा नम्बर २ देहिमाडौंलाई ५ विकेटले हराएको हो। निंग्लाशैनी खेल मैदानमा देहिमाडौंले दिएको १ सय ६१ रनको लक्ष्य बाराकोटले १८ दशमलव ५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
बाराकोटका प्रकाश बुडालले नटआउट ५८ रन जोडे। देहिमाडौंका सन्तोस बिजलेले ३ विकेट झारे। त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको देहिमाडौं १९ दशमलव २ ओभरमा १ सय ६० रनमा समेटियो। जसमा दीपक बोहराले ४१ र राजेन्द्र बोहराले ३३ रन जोडे। बाराकोटका दिनेश बुडाल, निरज बुडाल र कपिल चन्दले २/२ विकेट हात पारे।
म्यान अफ द म्याच बाराकोटका प्रकाश बुडाल घोषित भएको स्कोरर खेमराज भट्टले जानकारी दिए। दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगिता चैत २ गतेसम्म चल्नेछ। प्रतियोगितामा सहभागी ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको नगर क्रिकेट समितिले जनाएको छ।
उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले जानकारी दिए।
२६ फागुन २०७८, बिहीवार २०:५९ बजे प्रकाशित












