उत्तराखण्डका मुख्यमन्त्री धामी विधान सभा चुनावमा पराजित

भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी विधानसभा चुनावमा पराजित भएका छन्।भारतीय सञ्चार माध्यमका अनुसार भारतीय जनता पार्टी (भाजपा) का तर्फबाट खटीमा विधान सभाका उम्मेदवार बनेका धामीलाई कांग्रेसका भुवन कापडीले ६ हजार ९ सय ५१ मतले पराजित गरेका हुन्।

बिहीबार सम्पन्न मतगणना अनुसार कूल ९१ हजार ३ सय २५ मतमध्ये विजयी भएका कापडीले ४७ हजार ६ सय २६ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी उत्तराखण्डका मुख्यमन्त्री धामीले ४० हजार ६ सय ७५ मत मात्रै प्राप्त गरेका थिए।

विधानसभामा विजयी कापडी उत्तराखण्ड कांग्रेसका कार्यकारी अध्यक्ष हुन्। युवाहरुमा बलियो पकड बनाएका उनले उत्तराखण्ड युवा कांग्रेसको अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

सन् २०१७ को विधान सभा चुनावमा कापडी मुख्यमन्त्री धामीसँग २ हजार ६ सय ९ मतान्तरले पराजित भएका थिए। त्यस बेला कापडीले २६ हजार ८ सय ३० र धामीले २९ हजार ५ सय ३९ मत ल्याएका थिए।


२६ फागुन २०७८, बिहीवार २१:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु