सेती अस्पताल सुधारका लागि कार्ययोजना मुख्यमन्त्रीसमक्ष पेश

धनगढी । सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह र भौतिक पूर्वाधार सुधारका लागि अस्पताल प्रशासनले कार्ययोजना तयार गरी मुख्यमन्त्री खगराज भट्टसमक्ष पेश गरेको छ। मुख्यमन्त्री भट्टले अस्पतालको अनुगमन गरी सुधारमा चासो देखाएको केही दिनमै अस्पताल प्रशासनले नीतिगत, व्यवस्थापकीय तथा भौतिक सुधार समेटिएको कार्ययोजना पेश गरेको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको नेतृत्वमा कर्मचारीको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कार्ययोजना बुझाएको हो।

कार्ययोजना बुझ्दै मुख्यमन्त्री भट्टले अस्पतालमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभयो। उहाँले अव्यवस्थित इमर्जेन्सी सेवा, शौचालय तथा सरसफाइ, सेवा प्रवाह र अस्पतालको भित्री तथा बाहिरी वातावरण सुधारमा विशेष ध्यान दिन निर्देशन दिनुभयो। अस्पताल सुधारका लागि आवश्यक नीतिगत तथा आर्थिक व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै मुख्यमन्त्री भट्टले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुधारका काम अघि बढाउन निर्देशन दिनुभयो।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. पाण्डेले तत्काल गर्नुपर्ने सुधारका काम सुरु भइसकेको जानकारी दिनुभयो। बाँकी सुधारका लागि आवश्यक नीतिगत निर्णय र बजेट व्यवस्थापनमा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो। अस्पताल प्रशासनले तयार गरेको कार्ययोजनामा सेवा प्रवाह व्यवस्थित गर्ने, भौतिक पूर्वाधार सुधार, सरसफाइ, इमर्जेन्सी सेवा व्यवस्थापन तथा अस्पतालको समग्र वातावरण सुधारलाई प्राथमिकतामा राखिएको छ।


५ भदौ २०८३, शुक्रवार २०:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु