punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुखलाई जनप्रतिनिधिले कार्यकक्षमै थुने

Chaupati
safha napa

जिल्ला समन्वय समिति कञ्चनपुरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीलाई समितिका सदस्यहरूले कार्यकक्षमै थुनेका छन् । चौधरीलाई आज दिउँसो समिति सदस्यहरूले कार्यकक्षमा थुनेका हुन् ।

जिल्ला समन्वय समितिका सदस्य सीतादेवी भण्डारीसहितका सदस्यको एक टोलीले कार्यालय प्रमुख चौधरीले समितिका पदाधिकारी र कर्मचारीको तलब/भत्ता दिन आनाकानी गर्नुका साथै लामो समयदेखि समन्वय नगरी हिँडेकाले कार्यकक्षमै थुनेको हो ।

‘कार्यालयमा कुनै प्रकारको समन्वय नगर्नुका साथै गत पुसयता तलबभत्ता दिनसमेत बेवास्ता गरेपछि हामीले आधा घण्टा थुनेका हौँ,’ भण्डारीले भनिन्, ‘एउटा कर्मचारी भएर जनप्रतिनिधिलाई बेवास्ता गर्दै हिँडेपछि कार्यालयको कामकाजमा समेत अप्ठ्यारो हुन थाल्यो ।’

गत पुस महिनाको दोस्रो साता कार्यालयमा चौधरी प्रमुखको रूपमा हाजिर भएयता जनप्रतिनिधि र कर्मचारीले सेवा सुविधा नपाएको भण्डारीको आरोप छ । करिब आधा घण्टापछि समन्वय समिति पुगेको प्रहरी टोलीले कार्यालय प्रमुखको ढोकामा लगाएको ताला फुटाएको छ ।

‘समन्वय समितिको बैठक पनि चौधरी आएपछि बस्न सकेको छैन,’ भण्डारीले भनिन्, ‘यहाँ चौधरी र समन्वय समितिका प्रमुखबीच खटपट हुँदा कार्यालयको कामकाज नै प्रभावित बन्यो ।’

कार्यालय प्रमुख चौधरीले भने कर्मचारी र प्रशासनको काममा समन्वय समितिका प्रमुखसहित पदाधिकारी हाबी हुँदा समस्या भएको दाबी गरे । ‘आफन्तलाई जागिर खुवाउने अनि महिनामा एकै पटक हाजिर लगाएर तलब खुवाएको देखियो,’ चौधरीले भने, ‘अहिले पनि समितिका कति जना करारमा भर्ना गरिएका छन् । त्यसको जानकारी अहिलेसम्म मलाई दिइएको छैन ।’

पदाधिकारी र कर्मचारीको तलब खुवाउने विषयमा केन्द्रमा समेत आफूले पहल गरिरहेको उनको भनाइ छ । ‘तलब खुवाउने विषयमा कोष तथा लेखा नियन्त्रणको कार्यालयमा अख्तियारबाट फोन आयो,’ चौधरीले भने, ‘त्यसपछि केही समयदेखि त्यो विषयमा अलमल भयो ।’

कार्यालय प्रमुखको कक्षको ताला खुलेको केही बेरमा नेपाल विद्यार्थी सङ्घका नेता तथा कार्यकर्ताले समन्वय समितिका प्रमुख फैरु तामाङको कार्यकक्षमा ताला लगाएका थिए ।


२५ फागुन २०७८, बुधवार १९:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु