मलासमा बहु आयामिक पार्क बनाइँदै
डडेल्धुराको परशुराम नगरपालिका–७ स्थित मध्यकालीन मानव सभ्यताको उद्गमबिन्दु मानिने मलास क्षेत्रमा बहु–आयामिक पार्क बनाइँदै छ। मल्लकालीन मन्दिर, शिलालेख, किल्ला, दरवार, पाटी पौवाचौतारा र बाटोलगायत मानवबस्तीका थुप्रै अवशेष रहेको मलास क्षेत्रमा पार्क बनाउन थालिएको हो।
मलासको कोलडाँडामा शहीदपार्कका नामले पार्क निर्माणको काम थालेको वडाध्यक्ष केशव बोहराले बताए। तराई, पहाड र भित्री मधेश जोड्ने चुरे पहाड क्षेत्रमा रहेको मलासपार्क बनाउने मुख्य उद्देश्य रहेको उनले बताए।
पार्कमागोलघर निर्माणका लागि वडा कार्यालयबाट एक लाख ८० हजार र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच लाख ५० हजार बजेट छुट्टाएको वडाध्यक्ष बोहराको भनाइ छ।
‘यो वर्ष पार्क क्षत्रमा गेट, गोलघर, पदमार्ग, सेल्फी प्वाइन्ट बन्छन्। भ्यूटावर लगायतका संरचना क्रमशः निर्माण गरिन्छन्,’ उनले भने, ‘मलास तीन वर्षअघि सडक सञ्जालसँगजोडिएको छ, अब पर्यटकीय हब बन्छ।’
मलास कन्चनपुरको भीमदत्त नगरपालिकको क्षेत्रसँग जोडिएको छ। निर्माणाधीन पार्कसम्म पुग्न कञ्चनपुरको महेन्द्रनगर बजारबाट १५ किलोमिटर कच्ची सडकको बाटो प्रयोग गर्न सकिन्छ भने डडेल्धुराको परशुराम नगरपालिकाको सादनीबाट ११ किलोमिटर (कच्ची सडक) मा पुगिन्छ।
२२ फागुन २०७८, आइतवार ०८:०१ बजे प्रकाशित































