राहत चामलका बिषयमा छानविन समिति गठन

धनगढी, १ जेठ । धनगढी उप–महानगरपालिकाले राहत चामलका बिषयमा उत्पन्न समस्याको छानविनका लागि समिति गठन गरेको छ ।कार्यपालिकाको बैठक बसी ३ दिनको समय तोकेर छानबिन समिति गठन गरेको उप महानगरपालिकाले जनाएको छ । आज धनगढी उप–महानगरपालिले प्रेस विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।

विज्ञप्तीमा भनिएको छ , नेपाल सरकारले महामारी फैलिन नदिन चैत ११ गते देखि लकडाउन जारी गरेको छ । बाध्यात्कम लकडाउनका कारण छाक टार्न समस्या भएका मजदुरहरुलाई सरकारी मापदण्डमा रहेर दोश्रो चरणको राहत वितरणको काम भैरहेको थियो । उप–महानगरपालिकाको वडा नं ४ मा वितरण भैरहेको राहत मध्य केहि ब्यक्तिले बुझेको चामल गुणस्तरीय नभएको गुनासो आउने वित्तिकै वितरणको काम रोकेर छानविन प्रकृया अगाडी बढाइएको आम नगरवासीमा जानकारी गराउन चाहन्छौं ।

उप–महानगरपालिकाले टेन्डर प्रकृयाबाट चामल खरिद गरेको हो । चामल खरिद गर्ने काम कानुन सम्मत गरिएको छ भनी बिज्ञप्तीमा उल्लेख गरिएको छ । ठेक्का पाएको फर्म ठाकुर ट्रेड लिङ्कले सिधै वडामा खसालेको केहि चामलमा त्रुटी भेटिएको हो । आपूर्तीकर्ता फर्म ठाकुर ट्रेड लिङ्क धनगढीले सम्झौता भएअनुसारको चामल उपलब्ध नगराई गुणस्तरहिन चामल उपलब्ध गराएकोले मिति २०७७ बैशाख ३१ गते बसेको नगर कार्यपालिका बैठकले घटनाको थप छानविन र अनुसन्धानका लागि ५ सदस्यीय छानविन समिति गठन गरिसकेको समेत बिज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

समितिलाई २०७७ जेठ १ गते देखि लागुहुने गरी सम्पूर्ण कुराको छानविन सहित ३ दिन भित्र कार्यपालिका बैठकमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिईएको छ । छानविन समितिको प्रतिवेदनका आधारमा ठेक्का रद्ध लगायत अन्य कानुनी कार्वाहीमा जाने ब्यबहोरा विज्ञप्तीमा उल्लेख छ ।


१ जेठ २०७७, बिहीवार १३:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु