निरन्तर वर्षासँगै विद्युत संरचना जोखिममा, सावधानी अपनाउन प्राधिकरणको आग्रह
धनगढी। सुदूरपश्चिममा निरन्तर भइरहेको वर्षाका कारण विद्युतका पोल तथा तारलगायत संरचनामा क्षति पुग्न सक्ने भन्दै नेपाल विद्युत प्राधिकरणले सावधानी अपनाउन आग्रह गरेको छ।
वर्षाका कारण कतिपय स्थानमा रुख ढल्ने, विद्युतका पोल ढल्ने तथा तार लत्रिएर भुइँमा झर्न सक्ने भएकाले करेन्ट लाग्ने र दुर्घटना हुने जोखिम बढेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले क्षति भएका विद्युत संरचनाको नजिक नजान, भुइँमा खसेको विद्युतको तार, पोल वा अन्य विद्युतीय उपकरण नछुन आग्रह गरेको छ। यस्तै, वर्षाको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन र विद्युत संरचनाको आसपास विशेष सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
विद्युतको तार भुइँमा खसेको वा पोल तथा अन्य संरचनामा क्षति पुगेको देखिएमा तत्काल सम्बन्धित विद्युत वितरण केन्द्रमा जानकारी गराउन प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले विद्युत संरचनाको सुरक्षासँगै आफ्नो र परिवारको सुरक्षाका लागि पनि सबैलाई ‘सावधान रहौँ, सुरक्षित रहौँ’ भन्ने अनुरोध गरेको छ।
२२ भदौ २०८३, सोमवार १२:४२ बजे प्रकाशित














