सुदूरपश्चिममा भदौ मसान्तभित्र बजेट ल्याउने मुख्यमन्त्री भट्टको दाबी
धनगढी। मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारको बजेट भदौ मसान्तभित्रै आउने दाबी गरेका छन् । मुख्यमन्त्री भट्टले भदौ मसान्तभित्रै बजेट फाष्ट ट्रयाकबाट ल्याउने बताएका हुन् ।
सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेको न्युनतम साझा कार्यक्रम आज (सोमबार )सार्वजनिक गर्दै मुख्यमन्त्री भट्टले बजेट ल्याउन नीतिगत तयारी पुरा भएको बताएका हुन् ।
मन्त्रालयहरुलाई बजेट निर्माणका लागि दिने मार्ग निर्देशन समेत तयार रहेको मुख्यमन्त्री भट्टले बताए । मुख्यमन्त्रीको तर्फबाट मन्त्रालयहरुलाई दिने नीतिगत निर्देशनको मस्यौदा पनि बनाइरहेको उनले बताए ।
मुख्यमन्त्री भट्टले यि मार्गदर्शनहरुको आधारमा बजेट बनाउन धेरै दिन नलाग्ने भएकाले भदौ मसान्तभित्रै बजेट ल्याउन सम्भव रहेको पनि बताए । उनले बजेटमा रहेको बेथिति सामान्य तरिकाले समाधान हुन सक्ने अवस्था नरहेकोले केही दिन बढि लगाएर भएपनि शब्द–शब्द, वाक्य–वाक्यमा र बुँदा बुँदामा छलफल गरेर न्युनतम साझा कार्यक्रम तयार गरेको बताए ।
उनले प्रदेश सरकारको गरिमा कायम राख्ने र औचित्य र उपादेयिता सिद्ध गर्ने, प्रदेशले केही गर्याे है भन्ने मनोभावना बनाउने उद्देश्य राखेर न्युनतम साझा कार्यक्रम निर्माण गर्न समय लगाएको बताए ।
अघिल्लो सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित हुन नसक्दा प्रदेश सरकार साउन १ गतेदेखि बजेट शून्यतामा छ । अघिल्लो पटक २०८१/८२ मा प्रदेश सरकार बजेट शून्यतामा जाँदा पनि बजेट पुनर्लेखन गरी भदौ ३१ गते प्रदेशसभामा प्रस्तुत गरिएको थियो ।
#सुदुरपश्चिम प्रदेश सरकार #खगराज भट्ट
२२ भदौ २०८३, सोमवार १३:५२ बजे प्रकाशित














