सुदूरपश्चिममा लगानी बोर्डद्वारा १९ आयोजना प्रस्ताव
लगानी बोर्डले सुदूरपश्चिम प्रदेशमा १९ विकास आयोजना प्रस्ताव गरेको छ । बोर्डले प्रदेशमा प्रस्ताव गरेका प्रमुख विकास आयोजनामा जलविद्युत्, क्षेत्रीय विमानस्थल, क्रिकेट खेल मैदान, विद्युतीय बस, केबुल कारलगायत छन् ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको तर्फबाट प्रदेशका विकास आयोजनाको लामो सूची प्रस्तुत गरिएको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेका चार दर्जन दीर्घकालिन आयोजनामा पश्चिम सेती जलविद्युत्, कञ्चनपुरको वनवासादेखि कर्णाली चिसापानीसम्मको छ लेन सडक, खप्तड राष्ट्रिय निकुञ्ज चक्रपथ, केवुल कार, सेती लोकमार्ग, कर्णालीमा जल यातायात, प्रदेश बसपार्क, एकीकृत बस्ती निर्माणलगायत छन् ।
सोमबार धनगढीमा आयोजित लगानी प्रवर्धन तथा परियोजना पहिचान, विकास र कार्यान्वयनसम्बन्धी समझदारीपत्रको मस्यौदामाथिको छलफलमा बोर्डले प्रस्ताव गरेका आयोजनाबारे जानकारी गराएको थियो । कार्यक्रममा प्रस्तावित विकास आयोजना प्रस्तुत गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रदेश सरकार र लगानी बोर्डका आयोजनामा छलफल गरेर टुङ्गो लगाउने बताए ।
छलफलका क्रममा प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले बोर्डको लगानी प्रवर्धन तथा परियोजना पहिचान, विकास र कार्यान्वयनसम्बन्धी समझदारी छिट्टै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।आर्थिक मामिला तथा योजनामन्त्री तारा लामा तामाङले हरेक विकास निर्माण आयोजनालाई पर्यटन क्षेत्रसँग जोड्नु आवश्यक रहेको बताए ।
९ फागुन २०७८, सोमवार २१:४८ बजे प्रकाशित































