गड्डाचौकी-चिसापानी राजमार्ग स्तरोन्नतीको काम सुरु

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म राजमार्ग स्तरोन्नतीको काम सुरु भएको छ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरले प्रत्येक वर्षको कार्यक्रम अनुसार यस वर्ष गड्डाचौकीदेखि चिसापानीसम्मको क्षेत्रलाई मर्मत तथा स्तरोन्नती गर्ने कार्यलाई सुरु गरेको हो। कार्यालयले हाल ठेक्का प्रक्रिया अगाडि बढाएर स्तरोन्नतीको कार्य सुरु गरेको जनाएको छ।

कार्यालयका अनुसार सडक क्षेत्रमा भएका खाल्डाखुल्डी पुर्ने, सडक भासिएको ठाउँमा मर्मत गर्ने, साँघुरो स्थानमा सडक चौडा पार्ने र सडक स्तरोन्नती गर्ने कार्य गरिनेछ।

यस्तै, गरेर गड्डाचौकी क्षेत्रबाट अगाडि बजार क्षेत्रभन्दा अत्तरिया तर्फको राजमार्ग क्षेत्रको चोकको केही भाग गत वर्षको कार्यक्रम अनुसार नै चौडा पारिसकिएको छ। जसका कारण महेन्द्रनगर बजार क्षेत्रको बसपार्क क्षेत्रमा आवतजावत गर्न निकै सहज भएको छ।

डिभिजन कार्यालयले राजमार्ग पुनर्स्थापना तथा स्तरोन्नती कार्यक्रम अन्तर्गत यस वर्ष वार्षिक कार्यक्रम अनुसार १० करोड बजेट पाएको छ। जसमा गड्डाचौकीदेखि चिसापानी क्षेत्रसम्म राजमार्ग स्तरोन्नती गर्ने कार्यक्रम रहेको छ।

अघिल्लो वर्षको कार्यक्रममा भासी, लालपुर, दैजी, झलारी, बाणी र गुलरिया चोकमा सडक चौडा पारिएको थियो। यसवर्ष थप केही चोकमा सडक चौडा पारिने सडक डिभिजन कार्यालयले जनाएको छ।

स्तरोन्नती कार्यक्रमको लागि डिभिजन कार्यालयलाई प्राप्त बजेट निकै कम हो। कम बजेट भएका कारण स्तरोन्नती कार्यक्रमलाई प्रत्येक वर्ष गरिने गरिन्छ। जसका कारण थोरै बजेटले धेरै ठाउँमा पुर्याउनुपर्ने बाध्यता हुने गर्दछ।

यसैगरी स्तरोन्नती कार्यक्रम अन्तर्गत नै पूर्वपश्चिम राजमार्गको दैजीदेखि गड्डाचौकीसम्म चौडा पार्ने पनि गरिएको छ। यस वर्षको स्तरोन्नतीको केही काम भने सुरु भएको अवस्था छ भने केही काम ठेक्का प्रक्रियामा रहेको छ। कार्यालयले यस वर्ष चारओटा ठेक्का लगाएर सडक स्तरोन्नती कार्य गर्नेछ।


१० माघ २०७८, सोमवार १७:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु