आफन्तले बुझेनन् शव
बीभत्स तरिकाले हत्या गरेर पुरेको अवस्थामा बुधबार राति शव फेला परेको सूर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीका आफन्तले अझै शव बुझेका छैनन् ।हत्यामा संलग्न अन्यको पनि खोजी गरी कारबाही हुनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग परिवारजनले राखेका छन् । डम्मरको शव पोस्टमार्टमपछि जिल्ला अस्पातलमै छ ।
हत्याका संलग्न आरोपमा मृतकका छिमेकी हरिश अवस्थीलाई पक्राउ गरेको छ । मृतकका आफन्तहरूले घटनामा अन्य पनि संलग्न रहेको आशंका गर्दै सबै पक्राउ नपरेसम्म शव नउठाउने चेतावनी दिएका छन् । डम्मर नेत्रविक्रम चन्द समूहका सदस्यसमेत हुन् ।
मंसिर १४ गते साँझ घरबाटै हराएका सूर्नया गाउँपालिका–६ खर्काधारका डम्मरको शव घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा बुधबार भेटिएको थियो । हत्या घटनापछि स्थानीय त्रसित छन् ।
बीभत्स तरिकाले भाइको हत्या भएपछि आफूहरूले असुरक्षित महसुस गरिरहेको मृतकका दाजु तीर्थराज अवस्थीले बताए । ‘भाइलाई त गुमाए । परिवारसँगै आफ्नो ज्यान खतरामा रहेको महसुस गरिरहेको छु,’ उनले भने ।
भाइको हत्यामा अरू पनि मिलेको हुन सक्ने भन्दै सबैको खोजी गरी सजाय दिनुपर्ने उनले बताए । नाताले भतिजा पर्ने हरिश सिद्धनाथ आधारभूत विद्यालयका शिक्षकसमेत रहेका हरिशले डम्मरको हत्या गरेको खुलेको छ । उनीहरूको घर १५ मिनेटको फरकमा छ ।
हरिशले पुस २२ गते आफूलाई विप्लव समूहका कार्यकर्ताले अपहरण गरेर बाँके जिल्लाको एक गाउमा पुर्याएको भन्दै फेसबुकमा स्टाटस राखेका थिए । लगत्तै प्रहरीले खोज्दा उनी भिजेको अवस्थामा फेला परेका थिए । उनले फेसबुकमा मृतक डम्मरका दाजु तीर्थराज र अर्का एक स्थानीय कार्यकर्ताले आफूलाई अपहरण गर्न लगाएको आरोप लगाएका थिए ।
प्रहरीमा सोधपुछका क्रममा ‘अपहरण’ झूटो भएको र आफूले डम्मरको हत्या गरेको बयान दिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । मंसिर १४ गते राति नै डम्मरको हत्या गरी शव गाडेको ठाउँ खुलाएपछि प्रहरी गएर उत्खनन गरेको हो । मृतकका आफन्तले पुस १ गते डम्मरको हुलियासहित खोजीका लागि निवेदन दिएका थिए ।
‘२र४ दिन कल डिटेल माग गर्न समय लाग्यो । हरिशसँगै मृतकको अन्तिम कल भेटिएपछि अनुसन्धान उसैतिर सोझियो,’ प्रहरी निरीक्षक ओझाले भने, ‘निगरानीमै रहेको बेला अपहरणको नाटक पनि गर्यो । फेरि बोलाएर सोधपुछ गर्दा शव गाडेको कुरा खुल्यो ।’
२ माघ २०७८, आइतवार १३:०७ बजे प्रकाशित































