punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका मेयर वड : काँग्रेस नगर सभापतिबाट केन्द्रमा छलाङ 

Chaupati
safha napa

करिब साढे चार वर्षअघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपूर्व कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर को बन्ने वा कसलाई बनाउने भन्ने विषयमा काँग्रेसमा छलफल चल्यो ।

देश संघीय गणतान्त्रिक राज्य व्यवस्थामा गइसकेपछि नगरपालिकाबाट उपमहानगरपालिका बनेको धनगढीको पहिलो मेयर बन्न थुप्रै आकांक्षी देखिए । त्यसमध्ये काँग्रेसको धनगढी नगर सभापतिसमेत रहेका नृपबहादुर वड पनि मेयरका आकांक्षीका रुपमा खडा भए । पार्टीको नगर सभापति भएकै कारण पनि उनले आकांक्षा राख्नु स्वभाविक थियो ।

मेयरको टिकट फुत्काउन नेताहरु जिल्लादेखि केन्द्र राजधानीसम्म धाउन थाले । मेयरको आकांक्षा राखिरहँदा वडविरुद्ध पार्टी भित्रकैले चलखेल सुरु गरे । ‘दलित समुदायको व्यक्तिलाई मेयरको टिकट दिए कसैले भोट दिँदैनन्, दियो भने नमस्कार गर्नुपर्छ’ भन्ने निकृष्ट शैली पनि अपनाइयो । उनी यसबाट कतिपनि विचल्लित र निराश भएनन् बरु उनलाई फाइदा नै पुग्यो ।

जातीय नारा उठाएर उनलाई कमजोर बनाउने खेल सफल भएन । कसैले जातीय नारा लगाएर उनलाई कमजोर बनाउन खोज्दा उल्टै उनलाई नै फाइदा पुग्यो । पछि उनले मेयरको टिकट पनि पाए । आफ्ना निकटतम प्रतिद्वन्द्वी मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गरे । सुदूरपश्चिमकै एकमात्र उपमहानगरपालिकाको मेयर बनेपछि नृप वडको थप चर्चा सुरु भयो ।

धनगढीलाई उनले देशकै उत्कृष्ट उपमहानगरपालिकाको रुपमा उभ्याए । उनी थप चर्चित बने । जुन चर्चाले उनलाई पार्टी राजनीतिमा अगाडि बढ्न सहज बन्यो । काँग्रेसको १३ औं महाधिवेशनका क्रममा पनि कैलाली काँग्रेसको सभापतिका आकांक्षी देखिएका उनले पछि नगरसभापतिमै चित्त बुझाउनुपर्यो ।

नगरसभापति रहँदै गर्दा उनी पछि मेयरमा निर्वाचित भएका हुन् । यसपटक पार्टीको १४ औं महाधिवेशनमा पनि उनी जिल्ला सभापतिका आकांक्षी थिए । उनले धनगढीमै पार्टीको एक कार्यक्रममा सभापतिको उम्मेदवारी घोषणासमेत गरिसकेका थिए । जसका लागि उनले भित्री तयारी पनि गरिरहेका थिए ।

कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय अभिवेशनमा उनले सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिसमेत चुनिए । क्षेत्रमा सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएपछि उनको लोकप्रियताको आँकलन गरियो । नभन्दै मेयर वड पार्टीको १४ औं महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनको यो पार्टीमा भएको सबैभन्दा ठूलो छलाङ हो ।

उनले नगर सभापतिबाट एकैपटक पार्टीको केन्द्रीय सदस्य बन्ने सौभाग्य पाए । संस्थापन पक्षबाट प्यानलमा पर्न सफल भएका उनलाई जित हात पार्न झन सहज बन्यो । दलित कोटामा पाँच जनाका लागि भएको निर्वाचनमा लोकप्रिय मत ल्याएर दोस्रो नम्बरमा रहँदै केन्द्रीय सदस्य निर्वाचित भए उनी ।

जिल्ला अधिवेशन स्थगित हुँदा फाइदा
कैलालीमा काँग्रेसको वडा, पालिका र क्षेत्रीय अधिवशेन सम्पन्न भयो । तर जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने गरि स्थगित भयो । प्रदेश अधिवेशन गर्ने जिम्मेवारी पनि कैलालीलाई दिइएपछि समय अभाव भन्दै जिल्ला अधिवेशन स्थगित गरिएको थियो ।

जिल्ला अधिवशेन स्थगित भएपछि जिल्ला सभापतिका लागि उम्मेदवारीसमेत घोषणा गरेको मेयर वडलाई केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पाउने अवसर जुट्यो । काँग्रेस सभापति शेरबहादुर देउवा र देउवा पत्नी डा। आरजु राणा देउवासंग राम्रो सम्बन्ध भएका वडले संस्थापन प्यानलबाटै उम्मेदवारी दिन पाए । जसमा उनी सफल पनि भए । यसअघिको जिल्ला अधिवशेनमासमेत जिल्ला सभापतिका उम्मेदवार बन्न नपाएका वड अगामी अधिवशेनमा पनि सभापतिमा आकांक्षा राख्दाराख्दै केन्द्रीय सदस्य बन्न पुगेका छन् । उनले राजनीतिक रुपमा छलाङ मारेका छन् ।

राजनीतिक यात्रा
घरपरिवारमा राजनीतिक पृष्ठभूमि नभएका वडको राजनीतिक यात्रा २०४६ सालदेखि सुरुवात भएको हो । त्यसबेला नेपाल विद्यार्थी संघमा आवद्ध भएका उनले २०४९ मा पार्टीको क्रियाशील सदस्यता लिएका थिए । त्यसयता उनी पूर्णकालीन रुपमा राजनीतिमा होमिए । २०५१ सालमा धनगढी-५ जाईको वडा सभापति भएका वड २०५७ मा तत्कालिन धनगढी नगरपालिकाको नगर सचिव बने ।

वडाको सभापति हुँदै नगर सचिवसम्म भएपछि उनले कहिल्यै राजनीतिक रुपमा पछाडि सर्न परेन । युवा वर्गको नेतृत्व गर्दै आए । २०६२/६३ को दोस्रो जनआन्दोलनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । त्यसक्रममा उनी पक्राउ पनि परे । ९६ दिनसम्म जलेमा बसे । काँग्रेसको सक्रिय कार्यकर्ता भएर गाउँमै बसेका उनले माओबादी द्वन्द्वका बेला पनि गाउँ छोडेनन् । बरु द्वन्द्वकालमै नगरसभापति बने । त्यसबेला काँग्रेस, एमालेलगायतका नेताहरु पलायन हुने गरेका थिए ।

धनगढीमा राम्रो छाप छोडेका वड २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भए । लामो समय नगरसभापति हुँदै धनगढीको मेयरसमेत बन्न सफल भएका उनले अहिले केन्द्रीय सदस्य बनेर आफ्नो राजनीतिक यात्रालाई सुनिश्चित र थप सुरक्षित बनाएका छन् ।


११ पुस २०७८, आइतवार १२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु