शीतलहर र हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न तयारी थालिएको छ : विपद् प्राधिकरण
सरकारले शीतलहर र हिमपातबाट हुन सक्ने जनधनको क्षति रोक्न तयारी थालेको जनाएको छ ।जाडोबाट नागरिकलाई जोगाउन ‘शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य मार्ग दर्शन २०७७’ अनुसार नै तयारी थालिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता डा.डिजेन भट्टराईका अनुसार सूचना सङ्कलनदेखि विपद् हुन नदिन र विपद्का घटना भइहालेमा उद्धार, राहत वितरण तथा पुनःस्थापनका कार्यक्रम तय गरी तयारी थालिएको छ ।
पालिका र जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालै अवस्था अध्ययन गरी विवरण सङ्कलन गर्ने, साधनस्रोतको कमी रहेरनरहेको पहिचान गरी त्यसको जोहो गर्ने तथा अपुग सामग्री केन्द्रमा माग गर्ने प्रतिकार्य मार्गदर्शनमा उल्लेख छ ।
त्यही अनुसारको तयारी थाल्न जिल्ला र पालिकालाई आग्रह गरिएको प्राधिकरणका प्रवक्ता डा।भट्टराईले बताए । जिम्मेवार निकायको रुपमा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई तोकिएको छ ।
देशभर चिसो बढ्दै गएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित हुन थालेको छ । अबको केही दिन मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
आकाशमा बादल रहेकाले न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्न सक्ने भएकाले चिसो बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताए ।
१० पुस २०७८, शनिवार १३:२९ बजे प्रकाशित













