बझाङकाे दुर्गाथली र थलारा गाउँपालिका जाेड्ने पुल जाेखिममा

सेती नदीमा निर्माण भएको झनानाको मोटरेबल पुल गएको साउनको पहिलो हप्ता तामझामका साथ उद्घाटन भएको थियो । जयपृथ्वी राजमार्ग पर्ने दुर्गाथली गाउँपालिका र खप्तड राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने थलारा गाउँपालिका जोड्ने यो पुल सञ्चालनमा आएसँगै सेतीपारि रहेको बझाङ जिल्लाको आधा भूभागका बासिन्दालाई आवागमनमा सहज हुने र खप्तड घुम्ने पर्यटकको यात्रा पनि निकै छोटो हुने अपेक्षासहित स्थानीयवासी खुसी भएका थिए ।

पाँच वर्ष लगाएर नौ करोड रुपैयाँ खर्चमा निर्माण भएको यो पुलले दिएको खुसी चार महिना पनि टिक्न सकेन । कात्तिक पहिलो हप्ताको बैमौसमी वर्षासँगै सेतीमा आएको बाढीले पुलमा क्षति पुर्‍याएपछि अहिले आवागमन बन्द छ । बाढीले झनानातर्फको पिलर र सडकको बीचको भाग बगाएपछि गाडी चल्न सकेको छैन ।

पुलमर्मत गरेर पुनः सञ्चालन गरिदिन थलारा गाउँपालिकाका जनप्रतिनिधिहरू जिल्लादेखि प्रदेश र केन्द्रसम्म धाउन थालेको महिनौँ भएको छ । यद्यपि बन्द भएको तीन महिनासम्म पनि पुल मर्मत नभएको थलारा गााउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर ओलीले बताए ।

निर्माण गर्ने बेला नै ठेकेदार कम्पनीले सहायता संरचना राम्रो नबनाएका कारण पुलको यो हबिगत भएको थलाराका अध्यक्ष भुवनेश्वर उपाध्यायको भनाइ छ । उनले भने, ‘पिलरको अगाडि सामान्य ग्याबिन हालेर माटो भरेका कारण यस्तो अवस्था भएको हो । हामीले पुल निर्माणको समयमा नै यसरी नबनाउनुस् भनेर अनुरोध गरेका थियौँ । हाम्रो कुरा नमान्दा अहिले यो हालत भयो ।’

पुल मर्मत गर्न प्रशासन कार्यालयमा नै पुगेर प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराएको उपाध्यायले बताए । प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले पुल निर्माण ठेकेदारसँग बुझेर पुल मर्मतका लागि पत्राचार गरिसकेको जानकारी दिएको बताए । उज्यालोबाट


८ पुस २०७८, बिहीवार ०८:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु