साकार भएर टिक्न नसकेको सपना : ‘म्युजियमका पार्टपुर्जा खोल्दै गर्दा आँखाबाट आँसु खसिरहे’
सात वर्षअघि अर्थात २०७१ साल असोज १ गतेदेखि धनगढीमा एअरक्राफ्ट म्युजियम सञ्चालनमा आयो । एअरक्राफ्ट सञ्चालनमा ल्याएका थिए क्याप्टेन बेद उप्रेतीले । म्युजियम सञ्चालनमा ल्याउनु भन्दा केही समयअघि क्याप्टेन उप्रेतीले म्युजियम सञ्चालनबारे जानकारी दिन धनगढीकै डिभोटी होटलमा पत्रकार सम्मेलन आयोजना गरे ।
धनगढीका प्रायः सबैजसो पत्रकार सहभागी भएका थिए । एअरक्राफ्ट म्युजियम कस्तो हुन्छ भन्नेबारे अधिकांश पत्रकार थाहा थिएन, त्यसबारे जानकारी पनि थिएन । त्यसैमाथि उनले धनगढीमा विश्वमै नभएको नयाँ खालको म्युजियम सञ्चालनमा ल्याउन लागिरहेका थिए । ‘विश्वमा एअरक्राफ्ट धेरै ठाउँमा छन्, तर धनगढीमा बन्ने एअरक्राफ्टमा विमानभित्रै म्युजियम हुनेछ’ उनले भनेका थिए । उनका अनुसार यस्तो खालको एअरक्राफ्ट विश्वका कुनैपनि देशमा छैन ।
पत्रकार सम्मेलनपछि धनगढीमा एअरक्राफ्ट बन्दैछ भनेर समाचारहरु छ्यापछ्याप्ती आए । मानिसहरुमा उत्सुकता जाग्यो, ‘कस्तो हुन्छ एअरक्राफ्ट ?’ त्रिभुनव विमानस्थलमा थन्किएको १ सय सिट क्षमताको कस्मिक एअरको विमानलाई उप्रेतीले गाडीमा लोड गरेर पाँच दिनमा धनगढी पुर्याए । धनगढी रंगशालाको उत्तरतिर जग्गा भाडामा लिएर एअरक्राफ्ट निर्माणको कार्य सुरु गरे । उनले बेद उप्रती ट्रष्टमार्फत म्युजियमको निर्माण कार्य सुरु गरे । मानिसहरुको उत्सकुताकाबीच जहाज धनगढी पुर्याउँदै गर्दा हेर्ने मानिसहरु घुइँचो लाग्न थालिसकेको थियो । नभन्दै केही समय भित्रै विमान भित्र म्युजियम बन्यो ।
करिब डेढ करोड रुपैयाँको लागतमा एअरक्राफ्ट म्युजियम निर्माण गरेर असोज १ गतेदेखि अवलोकनका लागि खुला गरियो । सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर नै क्याप्टेन उप्रेतीले आफ्नै जन्मस्थल धनगढीमा एअरक्राफ्ट म्युजियम सञ्चालनमा ल्याएका थिए । एअरक्राफ्ट सञ्चालनमा आएपछि त्यहाँ भ्रमण अवलोकन गर्न आउनेको घुइँचो लाग्न थाल्यो ।
नेपालमै पहिलो पटक धनगढीमा एअरक्राफ्ट म्युजियम सञ्चालनमा आएपछि नेपालका विभिन्न ठाउँसहित भारतीय पर्यटकहरु पनि धनगढी पुग्न थाले । विद्यार्थीहरुका लागि त झन पाठशाला नै थियो म्युजियम । जहाँ विद्यार्थीहरुले जहाँजको उत्पतिदेखि आधुनिक अवस्थाका जहाँजको बारेमा ज्ञान लिन सक्थे । यहाँका थुप्रै पर्यटकीय क्षेत्रहरुको बारेमा जानकारी पाइन्थ्यो ।
क्याप्टेन उप्रेतीले आफैले खिचेका सुदूरपश्चिमका विभिन्न पर्यटकीय गन्तव्यहरुका तस्बीर म्युजियम भित्र राखेका थिए । धनगढी आउनेका लागि घुम्ने एक उत्कृष्ट गन्तव्य थियो । धनगढीको पहिचान बनिसकेको थियो एअरक्राफ्ट म्युजियम । तर जग्गा धनीसंगको सम्झौता छोटो तिर जग्गा धनीसंगको सम्झौता छोटो थियो । सम्झौता सकिनै लाग्दा दुई वर्ष अघिनै क्याप्टे उप्रेती जग्गाको खोजीमा थिए ।
सकेसम्म उनी व्यक्रिगत जग्गा भन्दा बरु भाडा तिर्ने गरेर उपयुक्त ठाउँमा सरकारी जग्गामै एअरक्राफ्ट राख्न चाहन्थे । जसका लागि उनले प्रदेश सरकार, स्थानीय सरकारसंग पनि कुरा राखे । कसैले पनि हुन्छ पनि भनेन् र हुँदैन पनि भनेन् । तर जग्गा उपलब्ध गराउन कसैले पनि पहल गर्न सकेनन् । बरु मौन बसे ।

एअरक्राफ्ट राखिएको जग्गाको म्याद सकिने लागेको र अन्यत्र जग्गा उपलब्ध हुने छाँटकाँट नदेखिएपछि क्याप्टेन उप्रेतीले दुई वर्षअघि म्युजियममै पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनमा उनले जग्गा नपाएर एअरक्राफ्ट म्युजियम सार्नुपर्ने अवस्था आएको भन्दै दुखेसो पोखे । जग्गाका लागि के पहल गर्न सकिन्छ भनेर पत्रकारसंग रायसमेत मागे । जग्गाधनीसंगको सम्झौता सकिने लाग्दा कोरोना महामारी सुरु भयो । कोरोनाले म्युजियम पनि बन्द भयो । तत्काल म्युजियम सार्ने कुरा रोकियो । तर पनि उप्रेती जग्गाको खोजीमा लागिरहे । तर जग्गा कहीँकतै भेटिएन ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले म्युजियमलाई बाहिर जान नदिने र जग्गा उपलब्ध गराउँछु भन्न छोडेनन् । तर बेवास्ता गरिरहे । दुई वर्षसम्म जग्गाको टुंगो नलागेपछि उनले एक महिना अगाडि म्युजियममै पुनः पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलनको सुरुमै उनले सुनाए, ‘म्युजियमका लागि जग्गा भेटिएन, धनगढीबाट सर्ने भयो ।’
उनले आफ्नो नाफाको लागि नभई आफ्नो क्षेत्रको पर्यटकीय विकास र क्यान्सर पीडितका लागि सहयोग पुगोस् भनेरनै धनगढीमा एअरक्राफ्ट म्युजियम राखेका थिए । ‘मलाई धनगढीबाट एअरक्राफ्ट म्युजियम बाहिर लैजान मन छैन,’ उनले पत्रकार सम्मेलनमा भने, ‘व्यक्तिको जग्गामा निश्चित समयको लागि राखेर फेरि सार्नुभन्दा भाडा तिर्ने गरेर सरकारी जग्गामै ढुक्कले राख्न पाए हुने थियो, तर भेटिएन । यहाँ पनि सम्झौता सकिएपछि सार्नुको विकल्प रहेन ।’ त्यसबेला उनले म्युजियम कञ्चनपुरको महेन्द्रनगर वा नेपालगञ्जमा सर्न सक्ने बताएका थिए ।

उनले नेपालगञ्ज सर्ने सम्भावना बढी रहेको बताएका थिए । ‘म्युजियम सकेसम्म नेपालगञ्जमै सर्ने सम्भवना छ, त्यहाँका मेयरले बीपी चोकमा निःशुल्क जग्गा उपलब्ध गराउने बचन दिनुभएको छ ।’
नभन्दै म्युजियम भर्खरै नेपालगञ्ज सारिएको छ । धनगढीको पहिचान एअरक्राफ्ट म्युजियम अब नेपालगञ्जको भइसक्यो । जहाजको बाहिर लेखिएको ‘भिजिट फारवेष्ट’ मेटिएला । एअरक्राफ्ट म्युजियमका पार्टपुर्जा खोल्नुपूर्व क्याप्टेन उप्रेतीले अन्तिमपल्ट म्युजियममा आफू, परिवारका सदस्य तथा स्टापहरुसंग सम्झनास्वरुप तस्बीर लिएर बिदाई लिए ।

म्युजियमलाई आफ्नो जम्नस्थल धनगढीबाट बाहिर सार्न नचाहिरहेका क्याप्टेन उप्रेतीले एअरक्राफ्ट नेपालगञ्ज पुर्याएपछि सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक स्टाटस लेखेका छन्, जसले धनगढीबासीलाई भावुक बनायो । उनले ‘धनगढीको एअरक्राफ्ट म्युजियम बचाउन नसकेकोमा क्षमाप्रार्थी छु ।’ उनले यसरी नै फेसबुकमा आफ्नो बह पोखेका छन् ।
क्याप्टेन उप्रेतीको बह
आफ्नो जम्नस्थल धनगढीबाट एअरक्राफ्ट नेपालगञ्ज पुर्याएपछि क्याप्टेन बेद उप्रतीले भावुक फेसबुकमा आफ्नो बह पोखेका छन् । उनले लेखेका छन्, ‘आठ वर्षअघि धनगढीमा एउटा उत्कृष्ट एभियसन म्युजियम बनाउने सपना थियो, जुन साकार पनि भयो । तर धेरै वर्ष टिक्न सकेन । अर्को शब्दमा धनगढीको एअरक्राफ्ट सधैँका लागि बन्द भएको छ ।
जहाजका पाठपुर्जा खोलिँदै गर्दा मेरो आँखाबाट आँसु खसिरहे । मन पोलिराख्यो तर हाम्रो सहकर्मी राजु महत भाईले एकनासले जहाजÞ खोल्दै गयो । सात दिनमा जहाजका पाठपुर्जाहरु लामा ट्रकहरुमा लोड हुन थाले । म मेरी प्रेमीरूपी एअरक्राफ्टलाई सधैँका लागि हराउँदै थिएँ । प्रत्यक मिनेट फोटो खिच्दैै थिएँ । म मेरी मायालुलाई सधैँ भरी आफ्नो मुटुभित्र कैद गर्न चाहँथे ।

यसअघि दुई पटक पत्रकार सम्मेलन गरेको थिएँ । तर कसैले धनगढीको एअरक्राफ्ट म्युजियमलाई चाउन सकेनन् । चिन्ता, दुःख, आँसु मात्रै जीवन हैन । जीवन संघर्ष पनि हो भन्ने कुरा मलाई राम्ररी थाहा थियो । मुटुभित्र ढुंगा राखी मुस्कराइरहेँ । र नयाँ यात्राको लागि मानसिक तवरले बालियो बनेँ । मेरी बेहुली जस्ती म्युजियम काटिएयर ट्रकमा बेहोस थिई ।
एअरक्राफ्ट म्युजियम सधैँका लागि सहिद हुँदै थिई, जसले काठमाडौंको एभियनस म्युजियम, महेन्द्रनगरको महेन्द्रनगर म्युजियम र नेपालगञ्जको नेपालगञ्ज म्युजियम जन्माइसकेकी थिइन् । अब नयाँ यात्रा सुरु भयो । मलाई जस्तै धनगढीबासीलाई पनि दुःख लागेको होला । प्रयास गर्दागर्दै पनि धनगढीको एअरक्राफ्ट म्युजियमलाई बचाउन नसकेकोमा क्षमाप्रार्थी छु ।
म चिसापानीसम्म संगै आएँ । रातिको बास एअरक्राफ्ट म्युजियमको चिसापानीमै भयो । पौष १ गते एअरक्राफ्ट म्युजियम नेपालगञ्जको बीपी चोकबाट दाइनेतिर भित्र गसकेकी थिई । उ धनगढीबाट नेपालगञ्जकी भइसकेकी थिई । म नेपालगञ्जबाट लखनऊ हुँदै दिल्लीको लागि जहाजबाट उडेँ । उता नेपालगञ्जमा राजु भाई एकनासले नेपालगञ्ज एभियसन म्युजियम बनाउँदै छ ।

लखनउबाट प्यासेन्जर भएर उड्दै गर्दा धनगडीमा फेरि एकपटक उत्तम खालको एभियसन सेन्टर बनाउने सोच आएको छ । खासगरि स्थानीय सरकारसंग सहकार्य गरेर भविष्यमा फेरि भेटने प्रण गर्दै एअरक्राफ्ट धनगढीबाट बिदा लिन चाहन्छु ।’
पछि हट्यो उपमहानगरपालिका
एअरक्राफ्ट रहेको जग्गाको सम्झौता सकिएपछि क्याप्टेन उप्रेतीले जग्गा उपलब्ध गराउनका लागि धनगढी उपमहानगरपालिकासंग कुरा राखेका थिए । नगरप्रमुख नृपबहादुर वडले पनि बजार क्षेत्रमै रहेको पार्कमा म्युजियम राख्न दिने कुरामा सहमती जनाएका थिए । जसका लागि सम्झौता प्रक्रिया अगाडि बढ्यो । तर अन्तिममा नगरप्रमुख वड पछि हटे ।
‘उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडसँग एअरक्राफ्ट धनगढी पार्कमा राख्ने व्यवस्था गर्नका लागि कुरा राखेको थिएँ,’ उनले भने, ‘उहाँ सहमत पनि हुनुभयो । बोर्डले पार्क उपलब्ध गराउने निर्णय पनि गर्यो । तर अन्तिममा सम्झौता गर्ने बेला भने उहाँ पछि हट्नुभयो । किन पछि हट्नुभयो मलाई थाहा छैन ।’
धनगढी उपमहानगरपालिकाले धनगढी पार्कलाई यसअघिनै ठेक्कामा लगाएको छ । जुन पार्क व्यवस्थित पनि छैन । क्याप्टेन उप्रेतीकाअनुसार एअरक्राफ्ट राख्ने विषयमा पार्क ठेक्का लिएका व्यक्ति पनि सहमतिमै आएको अवस्थामा धनगढी उपमहानगरपालिकाका मेयर वड भने पछि हटेका हुन् ।

नेपालगञ्ज उपमहागनरपालिकाले एअरक्राफ्टका लागि निःशुल्क जग्गा र थप लगानीमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाइरहँदा धनगढी उपमहानगरपालिकाले भने आफ्नै ठाउँमा रहेको एअरक्राफ्ट म्युजियमका लागि भाडामा पनि जग्गा उपलब्ध गराउन सकेन ।
पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने क्षेत्रलाई बाहिर जान नदिनुपर्ने अवस्थामा सामान्य सहयोगसमेत नभएको क्याप्टेन उप्रतीको गुनासो छ । पर्यटकका लागि आकर्षक केन्द्र मानिएको धनगढीकै मुटुमा रहेको म्युजियम बाहिरिएपछि यहाँको पर्यटन विकासमा केही असर पर्ने पर्यटन व्यवसायीहरु बताउँछन् ।
३ पुस २०७८, शनिवार १५:१६ बजे प्रकाशित












