बैतडी जीप दुर्घटना : ज्यान गुमाउनेको संख्या ६ पुग्यो
बैतडीमा आइतबार राती भएको जन्ती बोकेको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । गम्भीर घाइते भएका चालकको पनि मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ पुगेको हो ।
जीप चालक डडेल्धुरका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव निरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतक सबैको सनाखत भएको छ ।
अन्य ज्यान गुमाउनेमा बैतडीको दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनामा परेर घाइते भएका दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्दलाइ पनि उपचारका लागि धनगढी रेफर गरिएको छ।
जीप ओरालो बाटोमा अनियन्त्रित भएर दुर्घटना भएको खुलेको प्रहरी नायव निरीक्षक पालले बताए । उनका अनुसार जीप सडकबाट पाँच सय मिटर तल खसेको छ ।
जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटना भएको थियो
६ मंसिर २०७८, सोमवार ०८:४४ बजे प्रकाशित












