बैतडी जिप दुर्घटना : ५ जनाको मृत्यु, २ को अवस्था गम्भीर
बैतडीको गोठालापानीनजिक जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक (इन्सपेक्टर) दर्शन खड्काले सो जानकारी दिएका हुन् ।
खड्काकाका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका वडा नम्बर ६ का अन्दाजी ४८ वर्षका राजेन्द्रबहादुर चन्द, सोही ठाउँका अन्दाजी ३८ वर्षका धनबहादुर चन्द, अन्दाजी वर्ष ६५ का प्रेम चन्द, अन्दाजी ६५ वर्षका तारासिंह थापा र वर्ष ५८ का खेमसिंह कार्की रहेका छन्।
जीपमा सवार ७ जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको र २ जनाको अवस्था गम्भीर रहेको इन्सपेक्टर खड्काले बताए।
गम्भीर घाइते हुनेमा सोही नगरपालिकाका ५८ वर्षका हर्कबहादुर चन्द र जिपचालक डडेल्धुरा घर भएका ४० वर्षका दीपक माली रहेका छन्। दुईजनाको अवस्था चिन्ताजनक भएकाले अस्पताल पठाइएको इन्सेक्टर खड्काले बताए।
बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सेरातर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो।
जिप सडकबाट पाँच सय मिटर तल खसेको बताइएको छ। जिप कसरी दुर्घटना भएको भन्ने केही खुल्न नसकेको प्रहरीले जनाएको छ।
५ मंसिर २०७८, आइतवार २३:२२ बजे प्रकाशित












