गृहजिल्ला पुगेर भीम रावलले गरे अध्यक्षमा लड्ने घोषणा, भने- ‘हारको डर छैन’
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावलले पार्टीको आगामी महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । गृहजिल्ला अछामको साँफेबगरमा आयोजित नगरकमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनमा अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।
हारदेखि डर नभएने भन्दै उपाध्यक्ष रावलले अध्यक्षमा लड्ने तयारीमा जुटेको बताए । कार्यकर्ताको भावना अनुरुप पार्टी अध्यक्षमा उठ्न लागेको उनले बताए । ‘मलाई हार्ने डर छैन,’ उनले भने, ‘कार्यकर्ताको भावनालाई कदर गर्दै अध्यक्षमा उठ्ने तयारी गरेको छु ।’ उनले केपी ओली अध्यक्षमा र आफू उपाध्क्षमा लड्दा पनि हारेको स्मरण गर्दै उनले भने, ‘माधव नेपालले पनि हारेकै हुन्, मैले २०४८ सालमा अछामबाट पनि हारेकै हुँ । तर पछि तपाईहरुले जिताइहाल्नु भयो ।’
साथै उनले पार्टीमा १० बुँदे सहमती र अन्तरपार्टी निर्देशन–१२ (अपानि–१२) कार्यान्वयन हुन नसकेकोमा पनि असन्तुष्टि व्यक्त गरे । ‘अपानी–१२ र दश बुँदे सहमति झापासहित देशरभर लागू भयो, सुदूरपश्चिममा लागू हुन सकेन’ उनले भने, ‘पार्टीमा बोल्दा कार्यन्वयन हुन नसकेपछि बाहिर बोल्न थालेको हुँ । म त्यही अडानमा यथावत छु ।’
२३ कात्तिक २०७८, मंगलवार १८:१० बजे प्रकाशित































