भीम रावलद्वारा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बहिष्कार
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दसबुँदे सहमति कार्यान्वयन नगरिएको भन्दै आज (मंगलबार) हुने पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गरेका छन्।
उनले आज गर्ने भनिएको एमाले सुदूरपश्चिम कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अन्तरपार्टी निर्देशन (अपानि)– १२ विपरीत भएको दाबी गरेका छन्।
‘गुटबन्दी’का आधारमा गर्न लागिएको बैठक र यसले गर्ने निर्णय ‘अवैध र अमान्य’ हुने रावलले घोषणा गरेका छन्।‘
आज हुने भनिएको कथित सू.प. (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ’, रावलले मंगलबार बिहानै भनेका छन्, ‘यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्। अपानि–१२ झापामा लागू हुने, सू.प.मा लागु नहुने किन ? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’
२३ कात्तिक २०७८, मंगलवार ०८:५६ बजे प्रकाशित






























