बझाङमा पहिरोः बेपत्ता २३ मध्ये २ जनाको शव भेटियो, खोजी कार्य जारी

पहिरोमा परेर बेपत्ता भएका बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको छ।थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई जना बच्चाको शव भेटिएको छ । यद्यपी उनीहरुको पहिचान भने खुल्न सकेको छैन ।

‘दुई जना बच्चाको शव निकालेका छौँ । उनीहरुमध्ये एक जनाको शरिरको आधा भाग मात्रै छ ।’ उनले भने, ‘खोलामा अर्को मानिसको खुट्टा देखिएको खबर आएको छ ।’पहिरोमा पुरिएकाको उद्धार तथा खोजबिनका लागि नेपाली सेना र शसस्त्र प्रहरीको टोली हेलिकप्टरमा केही बेर अघि घटनास्थलमा पुगेको छ।

स्थानीय, नेपाली सेना र सशस्त्र प्रहरी बेपत्ताहरुको खोजतलासमा लागेको वडाध्यक्ष विष्टले बताए ।थलारा गाउँपालिका–४ डिक्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए।

गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन्।बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरे पार्कीका घरका पाँच जना रहेका छन्।


३ कात्तिक २०७८, बुधवार १४:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु