एक महिना मात्रै सामाजिक विकास मन्त्री बनेका भाटले पाए भौतिक पूर्वाधारको जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार विस्तारसँगै कञ्चनपुर क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य ओम विक्रम भाट ‘सरल’ले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । बिहीबार राति शपथ लिएसँगै भाट प्रदेश सरकारको महत्त्वपूर्ण मन्त्रालयको नेतृत्वमा पुगेका हुन् ।
नेकपाका तर्फबाट मन्त्री बनेका भाट यसअघि पनि लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका नेता हुन् । प्रदेशको विकास निर्माणसँग प्रत्यक्ष जोडिएको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएपछि उनले विगतको भन्दा केही फरक र आशावादी काम गरेर देखाउने बताएका छन् ।

२०४४ साल वैशाख १० गते डडेलधुराको अजयमेरु गाउँपालिका–४, चौंडीमा जन्मिएका भाटको स्थायी ठेगाना कञ्चनपुरको वेदकोट नगरपालिका–१०, दैजी हो । हाल उनी धनगढी उपमहानगरपालिका–५, हसनपुरमा बस्दै आएका छन् ।
उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनका बुवा डम्बरबहादुर भाट र आमा नन्दा देवी भाट हुन् । उनकी पत्नी दिपिक्षा भट्ट हुन् भने उनीहरूका दुई छोरी छन् ।

भाटले २०५९ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए। त्यसको एक वर्षपछि नै उनी जिल्ला कमिटी सदस्य बने। त्यसपछि पार्टी संगठनका विभिन्न जिम्मेवारी सम्हाल्दै उनी क्रमशः जिल्ला, प्रदेश र केन्द्रीय तहको राजनीतिमा अघि बढेका हुन् ।
२०६१ सालमा स्वास्थ्य तथा प्रकाशन सुदूरपश्चिम विभागको सदस्य, २०६३ सालमा सुदूरपश्चिम ब्युरो सदस्य र २०६४ सालमा केन्द्रीय कार्यालयअन्तर्गत विशेष कमिटी सदस्यको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि २०६७ सालमा विशेष राज्यसमिति सदस्य, २०६९ सालमा भेरी–कर्णाली राज्यसमिति कार्यालय सचिव र २०७० सालमा थारुवान राज्य समिति सचिवालय सदस्य बनेका थिए ।
२०७१ सालमा राष्ट्रिय परिषद् समिति सदस्य हुँदै २०७३ सालमा केन्द्रीय कमिटी सदस्य बनेका भाट २०७५ सालमा नेकपाको प्रदेश कमिटी सदस्य भएका थिए । २०७८ सालदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यका रूपमा काम गरेका उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ (१) बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । हाल उनी प्रदेशसभा सदस्यसँगै पार्टीको केन्द्रीय समितिमा समेत छन् ।

राजनीतिसँगै भाटले विभिन्न व्यवसायमा समेत संलग्न भएर अनुभव हासिल गरेका छन् । रेस्टुरेन्ट तथा कृषि व्यवसाय, प्रकाशन तथा पत्रिका प्रकाशन, जलविद्युत् र बुटिक व्यवसायमा समेत उनको संलग्नता रहेको विवरणमा उल्लेख छ ।

विभिन्न क्षेत्रमा काम गरेको अनुभवलाई अब प्रदेश सरकारको जिम्मेवारीमा उपयोग गर्ने उनको तयारी छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएपछि मन्त्री भाटले प्रदेशको विकास निर्माणमा केही फरक र आशावादी काम गरेर देखाउने बताएका छन् ।

उनका अनुसार सुदूरपश्चिममा विकासको ठुलो आवश्यकता रहेकाले उपलब्ध स्रोत–साधनलाई प्रभावकारी रूपमा परिचालन गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्नुपर्ने चुनौती छ । मन्त्री भाटले परम्परागत शैलीभन्दा फरक ढङ्गले काम गर्दै प्रदेशको पूर्वाधार विकासलाई गति दिने र जनतामा आशा जगाउने गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘प्रदेशको सडक, पुल, भवनलगायतका पूर्वाधार निर्माणमा देखिएका समस्या समाधान गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिने छौँ,’ उनले भने ।


६ भदौ २०८३, शनिवार १३:४० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु