सेती अस्पताल सुधारका लागि कार्ययोजना र अवधारणापत्र पेश
धनगढी। सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह तथा भौतिक पूर्वाधार सुधारका लागि अस्पताल प्रशासनले तयार पारेको कार्ययोजना तथा सेवा सुधारसम्बन्धी अवधारणापत्र प्रदेश सरकारसमक्ष पेश गरिएको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको अनुगमन गरी सुधारमा चासो देखाएको केही दिनमै अस्पताल प्रशासनले नीतिगत, व्यवस्थापकीय तथा भौतिक सुधारलाई समेटेर कार्ययोजना तयार गरी मुख्यमन्त्रीसमक्ष पेश गरेको हो।
शुक्रबार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको टोलीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कार्ययोजना पेश गरेको हो। कार्ययोजना बुझ्दै मुख्यमन्त्री भट्टले अस्पतालको सेवा प्रवाहमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
उनले विशेषगरी अव्यवस्थित इमर्जेन्सी सेवा, शौचालय तथा सरसफाइको अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा अस्पतालको भित्री र बाहिरी वातावरणमा सुधार गर्न निर्देशन दिए। अस्पताल सुधारका लागि आवश्यक नीतिगत तथा आर्थिक व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै मुख्यमन्त्री भट्टले नागरिकले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी सुधारका काम अघि बढाउनुपर्नेमा जोड दिए ।
यस्तै, अस्पताल प्रशासनले तयार गरेको सेवा सुधारसम्बन्धी अवधारणापत्र सामाजिक विकासमन्त्री सन्तोष शर्मा थापासमक्ष समेत पेश गरिएको छ। डा. पाण्डेसहित चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मीहरूले मन्त्री थापालाई अवधारणापत्र बुझाएका हुन्।
अवधारणापत्रमा अस्पतालको वर्तमान अवस्था, देखिएका समस्या, सम्भावित समाधान तथा सुधारका कार्ययोजनालाई समेटिएको छ। अवधारणा पत्रमाथि आवश्यक अध्ययन र पुनरावलोकन गरी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको मन्त्री थापाले बताइन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले तत्काल गर्नुपर्ने सुधारका कामहरू सुरु भइसकेको जानकारी गराएका छन् । अन्य बाँकी सुधारका लागि आवश्यक नीतिगत निर्णय तथा बजेट व्यवस्थापनमा प्रदेश सरकारको सहयोग आवश्यक रहेको उनले बताए ।
अस्पताल प्रशासनको कार्ययोजनामा सेवा प्रवाहलाई व्यवस्थित बनाउने, इमर्जेन्सी सेवा सुधार गर्ने, भौतिक पूर्वाधार तथा सरसफाइ व्यवस्थापन गर्ने र अस्पतालको समग्र भित्री तथा बाहिरी वातावरण सुधार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउँदै नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सुधारका काम अघि बढाउन लागिएको अस्पताल प्रशासनले जनाएको छ।
६ भदौ २०८३, शनिवार १३:२६ बजे प्रकाशित














