एमाले नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजबादी)मा प्रवेश
नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्।
पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएको भन्दै नेता जोशी एमाले छोडेर नेकपा (एस)मा प्रवेश गरेका हुन् । बिहीबार पार्टीको स्थायी कमिटीको सातौं बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन्।
उनलाई नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरे । उनले नेता जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणासमेत गरेका छन्।
नेकपा (एस)मा प्रवेश गरेपछि नेता जोशीले सुदूरपश्चिममा आफूनिकट नेता कार्यकर्तालाई नेकपा (एस) सक्रिय हुन पनि आग्रह गरेका छन् ।
यसअघि नेकपा एमालेमै हुँदा पार्टी विभाजन हुनुअघि उनी माधव नेपाल समूहमै थिए । त्यसबेला उनी नेपाल समूहको सुदूरपश्चिम प्रदेश समानान्तर कमिटीको अध्यक्ष थिए । तर नेपाल समूहले नयाँ पार्टी दर्ता गरेपछि भने उनी एमालेमै रहेका थिए ।
२१ असोज २०७८, बिहीवार १३:०४ बजे प्रकाशित






























