बझाङ कांग्रेसमा देउवा पक्षका अधिकांश उम्मेदवार विजयी
जिल्लामा कांग्रेसको पालिका स्तरीय अधिवेशनमा देउवा पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन् । जिल्लाका १२ वटा पालिका मध्ये ६ वटामा निर्विरोध नेतृत्व चयन भएको थियो भने ६ वटा पालिकामा निर्वाचन भएको थियो ।
अधिवेशनबाट सुर्मा गाउँपालिकामा अतित बोहरा, वित्थडचिरमा चक्रबहादुर अधिकारी, बुङगल नगरपालिकामा शिवराज भण्डारी, खप्तड छान्ना गाउँपालिकामा विष्णुभक्त जोशी, तल्कोट गाउँपालिकामा लोकेन्द्रबहादुर सिंह र मष्टा गाउँपालिकामा उत्तम जोशी विजयी भए । यी सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै पालिका स्तरको नेतृत्वको लागि मतदान भएका दुर्गाथली गाउँपालिकामा युवराज भण्डारी, केदारस्युँ गाउँपालिकामा शिवराज भण्डारी, थलारा गाउँपालिकामा दिलबहादुर सिंह, छविस पाथीभेरा गाउँपालिकामा पाण्डव थापा, जयपृथ्वी नगरपालिकामा हिरेन्द्र छत्याल, र साइपाल गाउँपालिकामा रामबहादुर बोहराको नेतृत्वको टिम विजयी भएको निर्वाचन अधिकृत चेतराज भट्टले जानकारी दिए ।
निर्वाचित पालिका सभापती मध्ये आठ जना देउवा पक्ष र चार जना पौडेल पक्षका रहेका छन् । मतदान मार्फत निर्वाचन सम्पन्न भएका पालिकामा चार जना देउवा र दुइ जना सभापती पौडेल पक्षकाले जितेको नेपाली कांग्रेसका जिल्ला उपसभापति ज्ञानबहादुर बोहराले बताए ।
१२ असोज २०७८, मंगलवार ०८:३५ बजे प्रकाशित













