punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जथाभावी कर्मचारी भर्ना गरेको भन्दै विद्युत प्राधिकरण सुदूरपश्चिम कार्यालयमा तालाबन्दी

Chaupati
safha napa

सेवा करारमा जथाभावी कर्मचारी भर्ना गरिएको भन्दै नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियामा तालाबन्दी गरिएको छ । सेवा करारमा कार्यरत कर्मचारी र युवा संघ कैलालीले संयुक्त रुपमा सोमबार दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्रादेशिक कार्यालयसहित प्राधिकरण मातहतका निकायमा सेवा करारमा कार्यरत यसअघिका कर्मचारीलाई जानकारी समेत नदिएर आर्थिक असुली गर्दै मनलाग्दी किसिमले भर्ना गरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् ।

धनगढी वितरण केन्द्रमा सेवा करारमा प्राविधिक हेल्परका रुपमा कार्यरत समिर खड्काले पुराना कर्मचारीलाई जानकारी समेत नदिएर विद्युत प्राधिकरण र निर्माण व्यवसायीले जथाभावी रुपमा कर्मचारी भर्ना गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

‘काम सिकिसकेका पुराना कर्मचारीलाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो माग हो तर प्राधिकरण र ठेकेदारले रकम असुली गर्दै निकटका व्यक्तिलाई भर्ना गरेर अनियमितता गरेका छन्,’ खड्काले भने, ‘फारम भर्ने सूचना समेत नदिएर हामीमाथि अन्याय गरिएको छ ।

यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ करार सेवाका लागि आह्वान गरिएको आवेदन फारम भर्दा समेत विभेद गरिएको उनीहरुको गुनासो छ ।अनियमित तरिकाले फारमको शुल्क लिने काम समेत भएको भन्दै उनीहरुले समानता कायम गर्न माग गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले भने सेवा करारका कर्मचारी सम्झौता बमोजिम ठेक्का लिएका सम्बन्धित निर्माण व्यवसायीले भर्ना गर्ने भएकाले कार्यालयसँग खासै सरोकार नहुने जनाएको छ । प्रादेशिक कार्यालयका निमित्त प्रमुख मेघमणि गौतमले यसअघि दुई वर्षका लागि गरिएको ठेक्काको अवधि सकिएपछि डिलस मल्टी सेक्युरेटीसँग सम्झौता गरिएको बताउँदै कर्मचारी भर्ना पनि उसैले गरेको दाबी गरे ।

‘कर्मचारी भर्ना गर्ने काम सम्बन्धित ठेकेदार कम्पनीकै हो । त्यसमा हाम्रो खासै भूमिका हुँदैन,’ गौतमले भने, ‘तर कार्यालयकै काममा अवरोध हुने गरी कार्य सम्पादन गरेको खण्डमा हामी नियमन गर्छौं ।’

अहिलेको विषयमा पनि डिलस मल्टी सेक्युरिटीसँग सोधेको उनले बताए । ‘मौखिक रुपमा नभए लिखित रुपमै सोध्छु,’ उनले भने । डिलस मल्टी सेक्युरिटीले प्रादेशिक कार्यालयसहित प्राधिकरणका अन्य कार्यालयका लागि झण्डै एक सय जना कर्मचारी करार सेवामा भर्ना गरेको बताइएको छ ।

 


४ असोज २०७८, सोमवार १६:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु