punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा घर निर्माणका लागि रकम माग्दै मुक्तहलिया परिवार

Chaupati
safha napa

पुनः स्थापन कार्यक्रम अन्तर्गत जग्गा प्राप्त गरेका मुक्तहलिया परिवार घर निर्माणका लागि रकम माग गर्दै शुक्लाफाँटा नगरपालिका धाउँदै आएका छन्। पटक पटक नगरपालिका कार्यालय पुगेपनि मुक्तहलिया परिवारले घर निर्माणका लागि आश्वासन बाहेक रकम पाउन सकेका छैनन्।

भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्तहलिया पुनः स्थापन कार्यक्रम अन्तर्गतको वित्तीय हस्तान्तरणसहितको अधिकार स्थानीय तहलाई दिएको छ। आव २०७७÷७८ मा मुक्तहलिया पुनः स्थापनका लागि नगरपालिकामा रु एक करोड ५० लाख बजेट प्राप्त भएकोमा ‘क’ वर्गका मुक्तहलियाका २५ परिवारका लागि जग्गा खरिद गरी जग्गा धनी पूर्जा हस्तान्तरण गरिएको छ।

जग्गा खरिदका लागि नगरपालिकाले रु ५४ लाख रकम खर्च गरेको छ। बाँकी रकम घर निर्माणका लागि मुक्तहलिया परिवारलाई उपलब्ध गराउनुपर्नेमा गराइएको छैन। जग्गा खरिदका लागि रु दुई लाख र घर निर्माणका लागि रु दुई लाख ५० हजार रकम मुक्तहलिया परिवारलाई उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ।

मुक्तहलिया परिवारलाई सात धुरका दरले जग्गा खरिद गरी जग्गाधनी पूर्जा दिइएको छ। “जग्गा छ, जग्गा धनी पूर्जा पाएका छौं” पृते पार्कीले भने, “घर निर्माणका लागि रकम नपाउँदा बिचल्लीमा परेका छौं। नगरपालिकाले आश्वासन मात्रै दिन्छ।

घर निर्माणका लागि पहिलो किस्ताको रकम समेत दिएको छैन।” “पटक पटक नगरपालिका कार्यायमै पुगेर घर निर्माणको रकम माग्दै आएका छौँ, पाएका छैनौं” कमला लावडले भने। सार्वजनिक जग्गामा त्रिपालको झोपडीमा बस्दा बस्दा थाकिसकेको र अब पाएको जग्गा धनी पूर्जा नगरपालिकालाईनै फिर्ता गर्ने अवस्थामा पुगेको उहाँको भनाइ थियो।

मुक्तहलिया परिवार एक हप्ताभित्रै रकम निकासा नभए बालबालिकासहित नगरपालिका कार्यालयमै आएर बस्ने समेत बताउँछन्। “वर्षातका बेला चुहिने प्लाष्टिकको झुपडीमा बस्नुपर्ने अवस्था छ। निकै कष्टकर अवस्थामा जीवन बिताउँदै आएका छौंँ।

कोरोनाका कारण गर्दै आएको मजदूरीसमेत नपाइदा साँझ बिहानको खानाखर्च जुटाउनै मुस्किल छ” गणेश दमाइँले भने, “नगरपालिकाले घर निर्माणको रकम निकासासँगै रोजगारीको समेत ग्यारेण्टी गर्नुपर्छ।”

नगर प्रमुख दिलबहादुर ऐर मुक्तहलिया परिवारलाई चाँडै घर निर्माणको पहिलो किस्ताबापतको रकम उपलव्ध गराउनका लागि काम अगाडि बढेको बताए। “घरबिहीन अवस्थामा कसैलाई पनि राख्दैनौं”, उहाँले भन्नुभयो, “छिटो भन्दा छिटो रकम निकासाका लागि काम गरिरहेका छौं।”

राष्ट्रिय हलियामुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहार मुक्तहलिया परिवारको जग्गा खरिद गरिएको एक वर्ष बितेपनि मन्त्रालयबाट निकासा भएको घर निर्माणबापतको रकम नपाउँदा अवस्था विजोग रहेको बताए। तत्काल नगरपालिकाले मुक्तहलियाको घर निर्माणबापतको रकम उपलव्ध गराउनुपर्ने उनको भनाई थियो।रासस


२९ भदौ २०७८, मंगलवार १४:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु