गृहमन्त्रालयको विज्ञप्तिप्रति पत्रकार महासंघको आपत्ति
नेपाल पत्रकार महासंघले गृह मन्त्रालयद्वारा यही भदौ १८ र २० गते जारी प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावनाविपरीत आएका यी दुई विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाईसमेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको महासंघको ठहर छ।
‘मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासंघ प्रष्ट छ’ मंगलबार विज्ञप्ति प्रकाशित गरी महासंघले भनेको छ, ‘मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के लेख्ने र के नलेख्ने भन्ने कुरामा नेपाली प्रेस गम्भीर छ।’
गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति प्रेसको संविधानप्रदत्त अधिकारलाई कुण्ठित बनाउने तथा नागरिकको स्वतन्त्रतापूर्वक भेला वा प्रदर्शन गर्न पाउने अधिकारलाई नियन्त्रण गर्ने नियत रहेकोले तत्काल सच्याउन महासंघले माग गरेको छ।
साथै, संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न पनि महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
२२ भदौ २०७८, मंगलवार १५:११ बजे प्रकाशित































