बैतडीको पाटनमा भोलीदेखि विद्यालय सञ्चालन हुने
बैतडीको पाटन नगरपालिकाले भोली आइतबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । कोरोनाका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा बालबालिकाहरुको शिक्षण सिकाईमा प्रभाव परेको र कोरोना संक्रमणदर पनि कम हुँदै गएकाले विद्यालय सञ्चालन गर्ने निर्णय भएको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।
भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने नगरकार्यपालिकाले निर्णय गरेकाले सोही अनुसार विद्यालय सञ्चालन हुने उनले बताए ।पाटन नगरपालिकामा लामो समयदेखि विद्यालय बन्द हुँदा शिक्षण सिकाईमा प्रभाव पारेकाले स्वास्थ्यका मापदण्ड अपनाएर आइतबारदेखि विद्यालय सञ्चालन गरिने नगरपालिकाका शिक्षा शाखा प्रमुख बिर्खराज भट्टले जानकारी दिए ।
माध्यमिक विद्यालयहरुलाई आलोपालो सञ्चालन गर्न भनेको र आलोपालोको मोडेल विद्यालय स्वयंले तयार पार्ने उनले बताए । उनले भने ‘लामो समयदेखि विद्यालय बन्द हुँदा समस्या भएको छ । त्यसैले शिक्षण सिकाईलाई सहज बनाउन विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हौं ।’
पाटन नगरपालिकामा ६४ ओटा सामुदायिक विद्यालय रहेका छन् । नगर क्षेत्र भित्रका सामुदायिक तथा निजी विद्यालयहरु सञ्चालनमा आउने शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिए ।
यसअघि जिल्लाको शिवनाथ गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याईसकेको छ । मेलौली नगरपालिकाले केही दिन विद्यालय सञ्चालन गरेर फेरी बन्द गरेको छ ।
नगर क्षेत्रमा कोरोनाका संक्रमित बढेको भन्दै नगरपालिकाले विद्यालय बन्द गरेको हो । लामो समयदेखि शिक्षण संस्था बन्द हुँदा बालबालिकाहरुको शिक्षण सिकाईमा नकारात्मक प्रभाव परेको छ ।
१९ भदौ २०७८, शनिवार १३:४३ बजे प्रकाशित






























