माधव-झलनाथले जबज नमाने वामदेव गौतम नेकपा एसमा नजाने
माधव नेपाल र झलनाथ खनालले खोलेको नयाँ पार्टीमा जाने घोषणा गरेका एमाले उपाध्यक्ष वामदेव गौतमलाई एमालेले पनि जिम्मेवारीविहीन अवस्थामा राखेको छ ।वामदेव पत्नी तुलसा थापा नेकपा एसले निर्वाचन आयोगबाट मान्यता पाउने दिन सनाखतका लागि निवेदन लिएर गए पनि कार्यालय समय सकिएको भन्दै दर्ता भएको थिएन ।उनी कानूनी रुपमा एमालेकै सांसद छिन् ।
यता गौतमले माधव नेपालसँग उपप्रधानमन्त्रीसहित गृहमन्त्री मागेको र सहअध्यक्ष चाहिने भनेको चर्चा चलिरहेको बेला गौतमले भने विचारमा कुरा नमिलेको बताएका छन् । गौतमले आफू निकट कार्यकर्तासँग जनताको वहुदलीय जनवाद नमान्ने हो भने आफू माधव नेपालसँग नजाने बताएका हुन् ।
गौतमलाई उदृत गर्दै ती कार्यकर्ताले भने–अहिले वामदेवले मन्त्री माग्यो, दुई अध्यक्ष हुनुपर्छ भन्यो भनेर प्रचार गरिएको छ । खासमा मैले जबज नमान्ने हो भने साथ दिन सक्दिन । अहिले झलनाथ र माधव नेपालले जबज त्यागेको देखियो, त्यसो हो भने उनीहरुसँग जान सकिन्न ।
गौतम निकटका बाँकी रहेका केही केन्द्रीय सदस्यहरु भने माधव नेपालको पार्टीमा समावेश भइसकेका छन् । गौतम एमालेभित्र जबजका पक्षधर मानिन्छन् । उनले नेकपाकालमा पनि जबजको वकालत गरेका थिए ।
१५ भदौ २०७८, मंगलवार १९:२७ बजे प्रकाशित






























