दार्चुला बाढी पहिरो : घाइते दुई जनाको सेती अस्पतालमा उपचार हुँदै
दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सोमबार साँझ हेलिकप्टर मार्फत धनगढी ल्याइएका जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडालको सेती प्रादेशिक अस्पतालमा उपचार हुन थालेको हो ।
उनीहरूको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको हो । घाइते दुवै जनाको स्वास्थ्य अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सेती प्रादेशिक अस्पतालमै पुगेकी थिइन् ।
मन्त्री जोशीले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना सहित उपचारमा केही पनि कमी नगर्न अस्पताललाई निर्देशन दिएकी छिन् । घाइतेको अवस्था बुझ्न सुदूरपश्चिम प्रदेश लेखा समितिकी सभापति कुमारी नन्दा बम पनि अस्पताल पुगेकी थिइन ।
यस्तै दार्चुलामा बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन् । बाढीले घर, पुल र लघु जलविद्युत् समेत बगाएको छ । आइतबार राति आएको बाढी पहिरोमा परी दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा धनजनको क्षति भएको हो ।
१४ भदौ २०७८, सोमवार २०:३२ बजे प्रकाशित





























