मकै बालीमा अज्ञात रोग, किसान चिन्तित

बझाङमा मकै बालीमा अज्ञात रोग लागेपछि किसान चिन्तित भएका छन् । जिल्लाको थलारा गाउँपालिकामा किसानहरुले लगाएको मकैमा अज्ञात रोग लागेको हो ।

गाउँपालिकाका विभिन्न वडामा लगाइएको मकैबालीमा हरियो किराले सताएको स्थानीयले बताएका छन् । हलक्क बढेको मकैमा हरियो किराले मकैको बोटको गुबो र पात खाई बारी नै उजाड बनाएको वडा नम्बर ५ का चन्द्रदेव जोशीको दुखेसो छ ।

किराले मकै सखाप पारेपछि उत्पादन पनि घट्ने गाउँपालिकाको वडा नं ६ का लक्ष्मी रोकायाले बताइन् । स्थानीयले यो रोग नियन्त्रणका लागि प्राविधिक जानकारी पनि पाउन सकेका छैनन् । थलारा गाउँपालिका कृषि शाखासंग सल्लाह लिन खोज्दा कार्यालयमा कर्मचारी कोही नभेटिएको स्थानीयको गुनासो छ ।

अज्ञात रोगले थलारा गाउँपालिका वडा नं. ५ को खारखोलाको करिब ५ हेक्टर जमिनमा लगाइएको मकै खेती नष्ट हुने अवस्थामा पुगेको छ । कमै खेती जोगाउनका लागि कृषि शाखाको तत्काल ध्यान जानुपर्ने स्थानीयको माग छ । अज्ञात हरियो किराले थलारा गाउँपालिका वडा नम्बर – ५, ६, ८ लगायतका वडामा मकै बाली नष्ट गरिरहेको उनीहरुको दुखेसो छ ।

कोरोना महामारी फैलिएपछि विदेशीएकाहरू गाउँघरमा आएर खेतीपातीमा लागेकाहरु खेतीपातीमा अज्ञात रोग लागेपछि चिन्तित बनेका छन् । यसरी अज्ञात रोगले बारीमा लगाएको अन्न बाली नष्ट गर्न थालेपछि भोकमरी निम्तिन सक्ने उनीहरुको चिन्ता छ ।


२९ असार २०७८, मंगलवार १६:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु