अत्तरियामा ५० रुपैँया नदिएको भन्दै काउन्टरका कर्मचारीबाट चालक कुटिए

कैलालीको अत्तरियामा यातायात समितिको काउन्टरका कर्मचारीबाट एकजना चालक कुटिएका छन्। सोमबार कैलाली यातायात समितिको काउन्टरका एक जना कर्मचारीले ५० रूपैयाँका लागि विङ्गर चालकलाई कुटपिट गरेका थिए। कुटपिटबाट चालकको खुट्टा भाँचिएको छ।

सुदूरपश्चिम प्रदेश ०२००१ ज ३८१ नम्बरका विङ्गर चालक कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १६ मजगाँउका २५ वर्षीय गोपाल सामन्तमाथि कुटपिट भएको हो।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ विजयनगरका २६ वर्षीय लक्ष्मण विश्वकर्माले ५० रुपैयाँ नदिएको भन्दै बीच सडकमा गाडीभित्रबाटै तानेर कुटपिट गरेको विङ्गरका साहु धन चन्दले बताए।

अत्तरियामा काउन्टरका कर्मचारीले चालकमाथि दादागिरी गर्दै आइरहेको अन्य सवारी चालकहरूले बताएका छन्। सामन्तलाई कुटपिट गरेपछि आज बिहानदेखि कञ्चनपुरको भिमदत्त नगरपालिका भाँसी बेरियरमा विङ्गर चालकहरूले सडकमा चक्काजाम गरेका छन्।

काउन्टरका कर्मचारीहरुले सवारी चालकलाई कुटपिट गरि घाइते बनाएको भन्दै उनीहरुले सो रूटमा चल्ने सावारीको आवागमनमा रोक लगाएका छन्। लामो दूरीका सवारी साधनहरूलाई भने चल्न दिइएको छ।

सवारी चालकमाथि दादागिरी गर्नेहरुलाई कारबाहीको माग गर्दै सडकमा चक्काजाम गरेको एक विङ्गर चालक रुद्रबहादुर गुरुङले बताए। काउन्टरका कर्मचारी लक्ष्मण विश्वकर्मालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।


२९ असार २०७८, मंगलवार १४:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु