धनगढीमा विद्यालयले गर्दै मनपरि जेसीबी लगाएर सालका रुखहरु ढालेको आरोप
धनगढीको जनता राष्ट्रिय आधारभूत विद्यालयको हाताभित्र रहेका सालका रुख जेसीबी प्रयोग गरेर रातारात ढालिएको आरोप लागेको छ । धनगढी उपमहानगरपालिका-१३ मा रहेको सो विद्यालयको प्रशासन र विद्यालय व्यवस्थापन समितिले गत जेठ ३० गते राति स्कुलको हाता भित्र रहेका ४ वटा सालका रुख जेसीबीको प्रयोग गरेर ढालेको स्थानीयको भनाइ छ । ”विद्यालय व्यवस्थापन समिति र प्रशासनले ३० गते राति डोजरको प्रयोग गरेर प्रक्रिया नपुगाएर रुख ढालेका हुन्,” एक स्थानीयले भने ।
तर विद्यालयले भने जीर्ण अवस्थामा रहेका रुखहरु हावाहुरीका कारण ढलेको दाबी गरेको छ । जनता राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद प्रसाद पन्तले जेठ ३० गते राति आएको हावाहु्रीका कारण सालका रुख ढलेको दाबी गरे ।
विद्यालयका प्रधानाध्यापक कृष्णसिंह पेलाले पनि हावाहुरीले रुख ढलेको बताउँदै व्यवस्थापन समितिबाट निर्णय गरेर व्यवस्थापनका लागि डिभिजन वन कार्यालयलाई आग्रह गरिएको बताए । डिभिजन वन कार्यालय धनगढीले जनता राष्ट्रिय आधारभूत विद्यालयले बुधबार मात्र हावाहुरीले विद्यालय हाताभित्र रहेका रुख ढलेको जानकारी दिएको जनाएको छ ।
डिभिजन वन कार्यालयका निमित्त प्रमुख पूर्ण शंकर यादवले उक्त जानकारीका सम्बन्धमा यथार्थ के रहेछ भनेर स्थलगत रुपमै अध्ययन गरिने बताए । जनता राष्ट्रिय माध्यमिक विद्यालयको छवि विगतदेखि विवादित छ । विद्यालयले २०७१/७२ र २०७२/७३ सालमा पनि यसरी नै प्राङ्गणमा रहेका रुखहरु काटेर प्रक्रिया नपुर्याई बिक्री गरेपछि विवाद भएको थियो ।
४ असार २०७८, शुक्रवार १०:३७ बजे प्रकाशित































