बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी विहिन
बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी विहिन बनेको छ। निवर्तमान प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी सरुवा भएर गएपछि अहिले बैतडी प्रजिअ विहिन भएको हो।
यस्तैगरि जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पनि छैनन्। कोभिडको दोस्रो लहर भयाभह रुपले बढीरहेका बेला जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहने प्रजिअ जिल्लामा छैनन्।
गृहमन्त्रालयबाट निवर्तमान प्रमुख जिल्ला अधिकारी जोशीको नाममा बैशाख १२ गतेको रमाना पत्र भएपनि गत चैत ३१ गतेनै उनी जिल्लाबाट गएका थिए। काम विशेषले विदा मागेर उनी चैत ३१ गते घर गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी जोशीलाई रुपन्देही सरुवा गरेको थियो।
रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जोशीलाई गृहमन्त्रालयले खटाएकोमा जोशीको ठाउँमा राजेन्द्र देव पाण्डेय प्रमुख जिल्ला अधिकारीको रुपमा बैतडी आउने भनिएपनि उनी अहिलेसम्म आएका छैनन्।
गृहमन्त्रालयबाट नयाँ प्रजिअका रुपमा आउनलागेका पाण्डेय १७ गते मात्रै हाजिर हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । अहिले जिल्ला प्रशासनका प्रशासकिय अधिकृत एवम् सूचना अधिकारी खगेन्द्र भारती निमित्त प्रजिअले गर्ने कामकाजहरु गरिरहेका छन्।
प्रजिअ नभएपनि कामकाजमा कुनै समस्या नभएको उनले बताए। कोभिड संक्रमण बढीरहेको अवस्थामा स्थानीय सरकारसँग समन्वय गर्नेलगायत अन्य सेवा प्रवाहको सन्दर्भमा कुनै समस्या नभएको उनी बताउँछन्।
१५ वैशाख २०७८, बुधवार ०९:३८ बजे प्रकाशित













