प्रदिप ‘पिजे’को ‘विरह गीत’
- (शार्दूलविक्रीडित छन्दमा)
गर्थ्यौं प्रेम बहुत त्यो समयमा, हामी प्रसन्नै थियौं ।
आत्मा एक भएर जोडी दुईको, साथै सदाको भन्यौं ।।
प्यारी नाम थियो बसेर दिलमा, गर्थिन् सदा सोखको ।
स्यूँदोको बिचमा भरेर उनले, सिन्दुर यै नामको ।।१।।
रानी प्रिय बनाउँदा यो मनको, थिएँ म ता धेर् खुशी ।
हुन्थ्यो हर्ष संधै अनि त रमिता, उनको छेवैमा बसी ।।
थियो प्रेम मिठास त्यो समयमा, आनन्द मान्थ्यौं अति ।
चोखो प्रेम भनी हिंड्यौं रहरले, पाउँला भनी के कति ।।२।।
आँखाबाट नशा विलीन नहुने, हुन्थे बेफिक्री सँधै ।
मेरो प्रेम थियो अबोध बिचरो, भन्छु म आज ‘कठै’ ।।
गाएँ गीत संधै प्रसन्न रहँदै, ‘माया हो जे हो’ भनी ।
‘आउ मालिक भै रहौली दिलमा’, भन्थे ‘मुटु हुन् उनी’ ।।३।।
त्यस्तो प्रेम हुँदा’नि भन्थिन उनी, ‘टाढा हुने चाहना’ ।
माया औधी भएर हो की किन हो, कस्तो हो त्यो कामना ।।
चिसो पस्न गयो अबोध मनमा, माया जब दुर भो ।
टाढा जान्छु भनेर भन्थिन उनी, बिर्सेर सिन्दुर त्यो ।।४।।
मेरो विन्ति पनि उदास बिचरो, गर्दा अति प्रार्थना ।
न्यानो प्रेम बुनेर अन्तिम घडी, तीतो भयो यो मन ।।
उनका प्रीति अनेक रुपहरुमा, बल्झीरहन्छन् अझै ।
वाचा प्रेम बचाउने अझ गरी, बग्छन् यी आँसु संधै ।।५।।
उनले खै कसरी भनिन् अबुझ भै, बाटो बिराइन् कि त ।
यस्तो जीवनमा म बस्नु कसरी, छुट्टिई मायासित ।।
उनको धेर पियार छैन अहिले, पाउँ कहाँ त्यो खुशी ।
एक्लो यो जगमा बनाई मकन, वैराग्य र बेखुशी ।।६।।
यस्तो पीर सहेर आँसु बहँदा, सम्झिन्छु यो मनभरि ।
नाच्छन् चित्रहरु हरेक पलमा, आँखा पिरोल्ने गरी ।।
एक्लै गर्दछु बात आज मनमा, उनको अति प्यार छ ।
कस्ले बुझ्दछ भाव भित्र दिलको, मेरो संधै हार छ ।।७।।
१४ वैशाख २०७८, मंगलवार १०:१० बजे प्रकाशित













