भागरथी हत्याका अभियुक्तलाई बाल सुधारगृहमा राखियो
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधार गृहमा राखिएको छ ।
जिल्ला अदालत बैतडीले उनलाई बिहीबार बालसुधार गृहमा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
१६ वर्ष उमेर भएका कारण दिनेशलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिइएको अदालतले जनाएको छ । उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीको बलात्कारपछि हत्या गरेको अभियोग त्यसै विद्यालयमा पढ्ने दिनेशमाथि लागेको छ ।
भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो ।
२८ फागुन २०७७, शुक्रवार १५:२३ बजे प्रकाशित































