कोरोनाविरुद्धको दोस्रो चरणको खोप आजदेखि लगाइँदै
नेपालमा शुरु भएको कोरोनाविरुद्धको खोप अभियान सोमवारदेखि दोस्रो चरणमा प्रवेश गरेको छ ।
एघार दिनसम्ममा देशभरिका करिब दुई सय केन्द्रहरूबाट एक लाख ८४ हजार जनाले पहिलो चरणमा खोप लगाएका छन् ।
पहिलो चरणमा स्वास्थ्यकर्मी तथा कोरोनाभाइरस उपचार तथा व्यवस्थापनमा अग्रपङ्तिमा खटिएकाहरूलाई खोप लगाइएको छ।
सोमवारदेखि शुरु हुने दोस्रो चरणमा भने सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवम् धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयको योजना छ।
बैंक, मालपोत तथा नापी कार्यालय, स्थानीय निकायहरू, खानेपानी तथा विद्युत कार्यालय, दूरसञ्चारसँग सम्बन्धित कार्यालय र सञ्चारकर्मीहरूलाई लक्षित गरेर सोमवारदेखि खोप लगाइने कोभिड १९ खोप सल्लाहकार समितिका संयोजक डा। श्यामराज उप्रेतीले बताए ।
यो चरणमा करिब तीन लाख मानिसलाई खोप लगाउने योजना रहेको उनले बताए।
२६ माघ २०७७, सोमवार ०८:०१ बजे प्रकाशित












