आम हड्तालमा विद्यार्थीको परीक्षा के हुन्छ ?
नेकपा प्रचण्ड–माधव समूहले भोलि आह्वान गरेको आम हड्तालमा परीक्षा भने सञ्चालन हुने भएका छन् ।
आम हड्ताल घोषणा कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले विद्यार्थीहरुको परीक्षा स्थगित नगरिने प्रष्ट पारे । सरकारले संवैधानिक निकायमा गरेको नियुक्तिको विरोधमा आह्वान गरेको आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने उनले स्पष्ट पारे ।
प्रचण्ड नेपाल पक्षले आन्दोलनका कार्यक्रमबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा यातायत, पसल, उद्योग व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द हुने जानकारी दिइयो ।
नेता श्रेष्ठले संविधान बचाउन नेपाली जनताले सहयोग गर्ने अपेक्षा लिएको भन्दै आगामी माघ २८ गते तय भएको प्रदर्शन यथावत रहेको बताए । उनले स्वेतपत्र जारी गर्ने विषयमा पनि पार्टीमा छलफल जारी रहेको भन्दै त्यसबारे चाडै निष्कर्षमा पुग्ने बताए ।
२१ माघ २०७७, बुधवार १५:२८ बजे प्रकाशित































