वर्षा नहुँदा गहुँबाली सुक्दै, भोकमरी हुने चिन्ता

यस वर्ष समयमै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । वर्षा नहुँदा उत्पादन घटेर भोकमरी हुने हो कि भन्ने चिन्ता किसानलाई चिन्ता बढेको छ ।

अहिलेसम्म वर्षात भएको छैन । अधिकांश खेतीयोग्य जमीनमा वर्षा नहुँदा गहुँ सुक्दै गएको थलारा गाउँपालिकाका बासिन्दा प्यारु खड्काले बताए । छबिसपाथीभेरा गाउँपालिका घर भएका मानबहादुर सिंहले खेत जोतेर गहुँ छराँैला सोचेको भएपनि वर्षा नहुँदा खेतसमेत बाँझै रहेको र केही खेतमा गहुँ लगाएको भएपनि गहुँ सुक्दै गएको जानकारी दिए ।

जिल्लामा १० हजार ४५० हेक्टर जमीनमा गहुँबाली उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । जयपृथ्वी नगरपालिका–१ का जीवनबहादुर सिंहले अघिल्ला वर्षमा यतिबेला खेतबारी हराभरा देखिन्थ्यो तर यस वर्ष भने समयमै पानी नपरेकाले जताततै खेतबारी उजाड देखिएको बताए ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण भारत गएर ज्याला मजदूरी गरी खानेहरू पनि गाउँघरमा फर्किएर खेती किसानी गर्न थाले तर समयमै पानी नपर्दा सङ्कट परेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले यस वर्ष फागुन १५ गतेसम्म पानी नपरे पाखो जमीनतिर १० देखि १२ प्रतिशत र सिँचाइयोग्य जमीनमा चारदेखि पाँच प्रतिशतसम्म उत्पादन ह्रास हुन सक्ने बताए ।

जिल्लामा अरू जिल्लाभन्दा बाँझो जमीन छाड्ने प्रचलन कम रहेको र जिल्लामा १२ हजार टन खाद्यान्न जहिले पनि अभाव हुने भएकाले ४२ करोडको खाद्यान्न बाहिरबाट आयात हुने गरेको उनले जानकारी दिए । सुर्मा, साइपाल, मष्टा, छविसपाथीभेरा र वित्थडचिर गाउँपालिका खाद्यान्न असुरक्षाकोे तथ्याङ्कमा छन् ।


१९ माघ २०७७, सोमवार १८:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु